धनुषा । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई आइतबार राति बर्खास्त गरे ।
त्यसको लगत्तै राउत नेतृत्वको प्रदेश २ सरकारले सत्ता साझेदारीको लागि नेपाली काँग्रेससँग पहिलो चरणको वार्ता गरेको छ ।
सोमबार बिहान मन्त्रिमण्डल पुनर्गठन र सत्ता साझेदारीको लागि दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको र बेलुका अन्तिम चरणको बैठक बसेर मन्त्रालय बाँडफाड गर्ने तयारी गरिएको जनाइएको छ ।
।
काँग्रेससँगको बैठक सकेर जनता समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्ने तयारी गरेको छ । विकल्पको रुपमा मन्त्रालय फुटाएर पनि दुवै पक्षलाई सरकारमा समेट्ने राउत सरकारको तयारी छ ।
बैठकमा प्रदेश सरकारका तर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह र कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, सांसदहरू शिवचन्द्र चौधरी र विरेन्द्र सिंहबीच छलफल भएको हो ।
काँग्रेसले तत्कालीन राजपासँग भएको गठबन्धनकै मोडलअनुसार ५० प्रतिशत मन्त्रालय दिन प्रस्ताव गरेको छ ।












