२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी



अ+ अ-

गण्डकी ।  मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती । उनीहरूलाई साथ दिन्छन् भोटो, स्टकोट, कछाड, पेटी, भाङ्ग्रा, टोपी र खुर्पेटोमा सजिएका पुरुषहरूले ।

विभिन्न स्थानमा आधुनिकताको नाममा परम्परागत संस्कार र संस्कृति हराइरहेका अवस्थामा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ सादीखोलाका मगर समुदाय भने आफ्नो संस्कार र संस्कृति जोगाउँदै त्यसैबाट गाउँमा पर्यटकलाई आकर्षित गर्ने अभियानमा जुटेका छन् ।

स्याङजा र तनहुँलाई छुट्याउने साँदका रुपमा खोला रहेका कारण प्राचीन कालदेखि नै सादीखोला गाउँका रुपमा स्थापित यस ठाउँमा अधिकांश मगर समुदायको बसोबास छ । प्राचीन कालमा पश्चिम ३ नंमा रहको तनहुँ र पश्चिम ४ नंमा रहेको स्याङ्जा छुट्याउने खोलाका रुपमा पनि यसलाई लिइन्थ्यो । पुस्तौँ अघिदेखि नैं आफ्ना जिजुबाजे यस गाउँमा आएर बसेको ८१ वर्षीय मनबहादुर थापा मगरले बताउनुभयो ।

पछिल्ला समयमा ग्रामीण बस्तीबाट बसाइँ सरेर जाने क्रम बढेका अवस्थामा उक्त समस्याबाट यो गाउँ पनि अछुतो भने छैन । यहाँबाट पनि धेरै मानिस बसाइँ सरेर स्याङ्जा, पोखरालगायत विभिन्न स्थानमा गएको उहाँले बताउनुभयो । “पहिला यहाँ मगर समुदायका ५५र५६ घर थिए”, उहाँले भन्नुभयो, “बर्सेनि बसाइँ सर्दै जाने क्रम बढ्दा अहिले भने २७ घरमा मात्रै बसोबास छ ।”

बस्तीमा घर घटे पनि मगर संस्कार र संस्कृतिलाई जीवन्त राख्नेगरी प्रयास भइरहेको उहाँले बताउनुभयो । मगर गाउँको मौलिकता कायम राख्न परम्परागत पोसाकको प्रयोगसँगै मगर संस्कृतिमा आधारित सोरठी, नचरी जस्ता नृत्यलाई कायमै राखिएको उहाँले बताउनुभयो । मगर समुदायमा विशेषतस् झोरा, सोरठी, नचरी, सुनिमाया, यानिमाया, ठाडो भाका, झ्याउरे, सालैजो, कौह्रा आदि नृत्य प्रचलित छन् ।

सादी खोलामा आउने पर्यटकलाई लक्षित गरी स्थानीयले घरबास ९होमस्टे० पनि सञ्चालन गरेका छन् । घरबासमा आउने पर्यटकलाई सोरठी, नचरी जस्ता परम्परागत नृत्यले स्वागत गर्ने गरिएको सादी खोला टोल विकास संस्थाका संयोजक सुकबहादुर थापा मगरले बताउनुभयो । विसं २०७३ मा घरबास थालिएको यस गाउँमा अहिले १५ घरमा घरवास सञ्चालन गरिएको छ ।

परम्परागत नृत्यका लागि पोसाक, मादल, झ्याली, झुर्मा आदि बाजा पनि आवश्यक हुने जनाउँदै उहाँले आर्थिक अभावका कारण यी वस्तुहरूको जोरजाम गर्न समस्या हुने गरेको बताउनुभयो । यहाँको सोरठी, नचरी जस्ता नृत्यहरू विभिन्न मेला महोत्सवमा स्याङ्जा तथा पोखरा लैजाने गरिएको छ ।

“परम्परागत संस्कार र संस्कृतिको जगेर्नाका लागि राज्यका तर्फबाट सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी मगर समुदायको मौलिक संस्कृतिलाई पुस्तौँसम्म जीवन्त राख्न चाहन्छौँ ।” कृषिजन्य उत्पादनमा पनि अब्बल सादीखोला सुन्तला तथा महका लागि पकेट क्षेत्र हो । यहाँ उत्पादित सुन्तला स्याङ्जा तथा पोखराका बजारमा निकै माग हुने गरेको छ । यहाँका हरेक घरमा मौरीका घार रहेको र सर्वसाधारणले मह बेचेर राम्रै आम्दानी गर्ने गरेको सुकबहादुर बताउनुहुन्छ । स्थानीयवासीले प्रतिकिलो रु एक हजार पाँच सयमा मह बेच्ने गरेको जनाउँदै उहाँले बजारको कुनै समस्या नरहेको बताउनुभयो ।

परम्परागत संस्कृतिकै जगेर्नाका लागि गाउँको तल रहेको झन्डै डेढरदुई सय वर्ष पुरानो तोरी पेल्ने कोललाई संरक्षित गरी राखिएको छ । गाउँको पुछारमा रहेको मिलेनियम गुफालाई गाउँको पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँ पुग्ने गोरेटो बाटो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासीले पर्यटकलाई लक्षित गरी गाउँ र मिलेनियम गुफाका बीचमा रहेको मिलन चौतारीमा खानेपानीको व्यवस्था गर्न लागेका छन् ।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग९मिलेनियम ट्रेक० मा पर्ने यस गाउँलाई पर्यटनसँग जोड्ने लक्ष्य रािखएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । “मिलेनियम ट्रेकमा आउने पर्यटकलाई यहाँको मौलिक मगर संस्कृतिको अनुभव लिन मिल्नेगरी हामी यसको प्रवद्र्धनमा लागेका छौँ”, उहाँले भन्नुभयो, “होमस्टे सञ्चालनमा आइसकेका अवस्थामा यहाँको मगर संस्कृति पर्यटकका लागि रोजाइमा पर्ने हाम्रो विश्वास छ ।”

गाउँमा सुन्तला, मह लगायतका कृषिजन्य वस्तुको उत्पादन पनि राम्रो हुने भएकाले कृषि पर्यटनका रुपमा पनि यसको विकास गर्ने सोच राखिएको उहाँले बताउनुभयो । घरबासलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकेमा त्यसबाट स्थानीयवासीको रोजगारी पनि सिर्जना गर्न सकिने सह प्राडा रामजीप्रसाद पोखरेल बताउनुहुन्छ । गाउँको संस्कार, संस्कृतिसँगै यहाँ उत्पादित वस्तुलाई पर्यटनसँग जोड्न सकिने उहाँले बताउनुभयो ।

गाउँमा ठूलो सङ्ख्यामा पर्यटक आउने थाहा पाएसँगै परम्परागत नृत्य देखाउन तथा अवलोकन गर्न स्याङ्जा तथा पोखरा लगायतका स्थानमा बसाइँ सरेर गएकाहरु पनि फर्केर आउने गरेका छन् । यो गाउँ र आसपासको क्षेत्र चरा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुहुन्छ । मिलेनियम ट्रेक क्षेत्रमा पाइने धेरै चराचुरुङ्गी यस  क्षेत्रमा पाइने जनाउँदै उहाँले पछिल्लो समयमा ठाउँ–ठाउँमा हराउँदै गरेको ठेउवा यहाँ देखिएको बताउनुभयो । रासस




भर्खरै