बेइजिङ । चीनको राजधानी बेइजिङबाट आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजाबाहक विमान काठमाडौँका लागि उडेको छ ।
चीनले नेपाललाई अनुदान स्वरुप १० लाख खोप दिने घोषणा गरेको थियो । बेइजिङ समय अनुसार बिहानको १० बजे आठ लाख डोज खोप लिएर काठमाण्डौंको लागि उडेको उक्त चार्टर विमान पाँच, साढे पाँच घण्टाको उडानपछि काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताईएको छ ।
त्यस्तै, हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत स्वायत्त क्षेत्र तिब्बत सरकारबाट दिने बताईएको २ लाख डोज खोप क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने बताईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो ।












