काठमाडौं । केही बेरमा सुरु हुन लागेको बागमती प्रदेश सभाको बजेट अधिवेशनमा सभाका कर्मचारीहरूको एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण भइरहेको छ ।
प्रदेश सभामा भएका १९ कर्मचारीमध्ये सबैकोे परीक्षण गरिँदैछ । यसका साथै प्रदेश सभा बैठकमा भाग लिन आएका सदस्यहरुको पनि ऐन्टिजेन विधिबाट कोभिड परीक्षण हुनेछ ।
उनीहरुको रिपोर्ट पोजेटिभ आएमा बैठकमा प्रवेश गर्न दिइनेछैन ।
३ बजे बस्ने आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान र मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी पठाएको पत्र सभामुखले पढेर सुनाउनेछन् । दलका नेताहरुले बजेट अधिवेशनको शुभकामना दिनेछन् भने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरीक्षकको, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।












