२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा छ हजार गाईभैँसीमा लम्पीस्किन



file photo
अ+ अ-

चितवन । चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ ।

जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको तथ्याङ्क छ । तीमध्ये छ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हालसम्म यस रोगका कारण एक सय ७६ गाई मरेका छन् ।

सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम माडी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छाकामना गाउँपालिकामा ६२, भरतपुर महानगरपालिकामा ३४, राप्ती नगरपालिकामा ४०, रत्ननगर नगरपालिकामा १४, कालिका नगरपालिकामा १०, खैरहनी नगरपालिकामा १० र माडी नगरपालिकामा छ गाई मरेका छन् ।

लम्पीस्किनका कारण मरेका गाईमध्ये भरतपुर महानगरमा पाँच गाईको बिमा गरिएको छ । जिल्लाका तीन पालिकामा पालिएका १५ हजार ९० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ । भरतपुरमा तीन हजार सात सय ९०, रत्ननगरमा सात हजार र राप्तीमा चार हजार तीन सय गाईभैँसीलाई खोप लगाइएको छ । स्थानीय पालिका र सहकारीमार्फत खोप खरिद गरी लगाइएको हो । विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका पाँच हजार गाईभँैसीलाई औषधि वितरण गरिएको छ । केन्द्रमा बजेट अभावका कारण स्थानीय पालिका, सहकारी र कृषक आफैँले खरिद गरी खोप लगाउने गरेका छन् ।

गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काँढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ ।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो ।रासस