२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुडालको इजलासमा



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएर पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।

आरोपितहरू मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले उमेर र बिरामीका कारण थुनामुक्त गरेर अनुसन्धान गरिपाऊँ भन्दै बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

उनीहरु आरोपित बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च पुगेका थिए । आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो ।

त्यसपछि उनीहरूलाई बुधबार काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गर्न अनुमति भएको थियो । काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद थप भए लगत्तै उनीहरू बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

राज्यका कुनै पनि निकायले व्यक्तिलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखेमा कानुनी उपचारका लागि बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत जान सकिन्छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरू तीन जना विनाशर्त रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

सीआईबीले सरकारी कागजात किर्तेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गर्न लागेको थियो । तर सरकारी कागजात किर्तेमा अनुसन्धानका लागि हदम्याद सकिएको जिकिर उनीहरुको छ ।

ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकामध्ये १७ जनाले पन्ध्र महिना पहिले नै सर्वोच्च अदालतबाट पक्राउ नगर्नका लागि स्टे अर्डर लिएर बसेका थिए । पक्राउ परेकामध्ये स्टे अर्डर लिएका तीन जना पक्राउ परेकै दिन छुटेका थिए । त्यही बाटो मीनबहादुर गुरुङ लगायतले पनि समातेका हुन् ।