२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण



अ+ अ-

झापा । झापाको हल्दिबारी–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीले असार १० गते घरको ढोकामा विषालु गोमन सर्प हिँडिरहेको देख्नुभयो । तत्कालै उहाँले सर्पलाई टाउकामा समाउनुभयो र घाँटीमा बेर्नुभयो । मदिरा लागेको बेसुरमा लापरबाही गर्दा परिणाम उल्टो निस्कियो, उहाँको दुवै हातमा सर्पले डस्यो । सख्त घाइते अवस्थामा उपचारका लागि चारआलीको सर्पदंश उपचार केन्द्र लैजाँदै गर्दा बाटैमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

झापाकै अर्जुनधारा–८ की २५ वर्षीया सुनिता मगर ६ महिनाकी सुत्केरी हुनुहुन्छ । असार १७ गते दिउँसो ४ बजेतिर बाथरुममा रहेको नानीको डाइपर बोक्दा उहाँलाई चिरिक्क गरेर दाहिने हातमा कमिलाले टोकेजस्तो लाग्यो । “हातमा हेर्दा एक थोपा रगत निस्किएको थियो,” उहाँले घटना सुनाउँदै भन्नुभयो, “डाइपर टक्टक्याउँदा गड्यौला जत्रो सानो सर्प बाथरुममा फुत्त झर्‍यो ।”

सर्प देखेपछि डराउँदै सुनिताले परिवारका सदस्य गुहार्नुभयो र मोटरसाइकलको पछाडि बसेर चारआलीको सर्पदंश उपचार केन्द्रमा तत्कालै पुग्नुभयो । स्वास्थ्यकर्मीहरुले उहाँलाई विषालु करेत सर्पले डसेको बताए । उपचारपछि स्वास्थ्यलाभ गरेर उहाँ घर फर्किनु भएको छ । झापामा हालै भएको सर्पदंशका उल्लिखित दुई घटनामध्ये पहिलोमा मानवीय लापरबाही र अज्ञानताले मृत्युको मुखमा पुर्‍याएको देखिन्छ भने दोस्रो घटनामा छिटो उपचार केन्द्र जाँदा जीवन सुरक्षित भएको देखिन्छ ।

गर्मीयाममा तराई र पहाडी जिल्लामा सर्पदंशका घटना बाक्लै हुने गरेका छन् । सर्पदंशबाट कैयनले अकालमा ज्यान गुमाउनु परिरहेको छ । उपचारका लागि दर्जनौँ केन्द्रहरु सञ्चालनमा रहे पनि अन्धविश्वास र लापरबाहीका कारण धेरैजसो बिरामीले छिटो उपचारमा नपुग्दा जीवन गुमाउनु परिरहेको छ ।

नौ वर्षमा ५१ हजारलाई डस्यो
नेपालमा सर्पदंशको अवस्था भयावह नै छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएअनुसार विगत नौ वर्षमा ५१ हजार एक सय ६२ जनालाई सर्पले टोकेर घाइते बनाएको छ । महाशाखाकी पशु चिकित्सक डा रोशिका श्रेष्ठका अनुसार नौ वर्षमा सर्पदंशका कूल बिरामीमध्ये सात हजार पाँच सय एकजना विषालु सर्पको डसाइमा परेका थिए । बाँकी ४३ हजार ६ सय ६१ जना विष नभएका सर्पले डसेर उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेका थिए ।

आर्थिक वर्ष २०७५/७६ यता हरेक वर्ष सर्पदंशका बिरामी बढिरहेका छन् । डा श्रेष्ठका अनुसार आव २०७५/७६ मा चार हजार पाँच सय ६७, आव २०७६/७७ मा पाँच हजार ८१, आव २०७७/७८ मा सात हजार नौ सय दुई र आव २०७८/७९ मा नौ हजार तीन सय ४६ जनालाई सर्पले डसेको छ । सर्पले डसेर उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेका बिरामीमध्ये १५ प्रतिशत जतिमात्र विषालु सर्पको डसाइमा परेका हुन्छन् । हरेक वर्ष औसत एक हजार जनालाई विषालु सर्पले डस्ने गरेको महाशाखाकी पशु चिकित्सक डा श्रेष्ठले जानकारी दिनुभयो ।

देशभर ८८ उपचार केन्द्र
सर्पदंशको उपचार गर्ने भनेर ३१ जिल्लामा ८८ उपचार केन्द्र सञ्चालनमा रहेका छन् । यी बाहेक सरकारी अस्पतालमा पनि उपचार हुने गरेको छ । कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र रहेकोमा झापा जिल्लामै चारवटा रहेका छन् । झापाको चारआलीस्थित नेपाली सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो ।

नेपाल रेडक्रस सोसाइटीले दमकका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाईमा र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाहरुले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकामा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा उपचार केन्द्र सञ्चालनमा छन् ।

झापाको मेचीनगर–१३ चारआलीस्थित नेपाली सेनाको अरिदम गणको परिसरमा चारआली सर्पदंश उपचार केन्द्र छ । झापाको सबैभन्दा पुरानो सर्पदंश उपचार केन्द्रको रुपमा परिचित यहाँ १९ वर्षमा १९ हजार पाँच सय २० जना सर्पदंशका बिरामीले उपचार प्राप्त गरेका छन् ।

नेपाली सेनाका प्राविधिक ऋषिराम पोखरेलका अनुसार यस उपचार केन्द्रमा वार्षिक सरदर एक हजार जना सर्पदंशका बिरामीले उपचार सेवा लिने गरेका छन् । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटादेखि बिरामी यहाँ आउने गरेका छन् । “पुरानो उपचार केन्द्र भएकाले होला धनकुटा र सुनसरीदेखिका बिरामी यहाँ आउनुहुन्छ,” प्राविधिक पोखरेल भन्नुहुन्छ, “धनकुटा र सुनसरीका बिरामीका लागि इटहरी र धरानतिरै उपचार गर्न सकिन्छ, यहाँ धाइरहनु पर्दैन भनेर सम्झाउँछौं । तर, उहाँहरु हामीलाई यहीको उपचारमा विश्वास छ भन्दै आउने गर्नुहुन्छ ।”

मधेसमा गोमन र करेत, पहाडमा गुर्बे
नेपालमा करिब ९० प्रकारका सर्प पाइने गरेको छ । जसमध्ये १५ वटा जति सर्प विषधारी मानिन्छन् । तीमध्ये पनि केही सर्पको डसाईले मात्र मानिसको मृत्यु हुनसक्छ । सर्पदंशमा अनुसन्धान गर्नुभएको चितवनका डा देवप्रसाद पाण्डेको अनुसन्धान प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा बढी विषालु सर्प गोमन, करेत र हरेउ हो ।

राजगोमन ९किङ कोब्रा० देख्दैमा डरलाग्दो र बढी विषयुक्त सर्प हो । यो मधेसमा पाइन्छ । साधारण गोमन सर्प साना र विषालु हुन्छन् । यिनीहरुले मान्छे देख्नासाथ त्रिशूलजस्तो छाप देखाउँदै टाउकाको भाग फुलाउँछन् । गोमनको तुलनामा धेरै साना तर विषालु हुन्छन् करेत सर्प । छिर्केमिर्के रङका करेतहरु पनि धेरै प्रकारका हुन्छन् । घरभित्र र बाहिर जहाँ पनि मानिससँगको जम्काभेटमा यिनीहरुले डस्ने जोखिम हुन्छ । गुर्बे चाहीँ पहाडी क्षेत्रमा मात्र पाइने विषालु सर्प हो । ढुवानीका सामानभित्र बसेका गोमन र करेत पनि पहाडी क्षेत्रमा पाइन थालेका छन् । गोमन र करेतको बासस्थान पहाड होइन ।

मधेसमा गोमन जस्तै धामन सर्प हुन्छ । तर यसले डसेमा चोट लागे पनि विष लाग्दैन । पानीमा पाइने ढोडे सर्पले पनि धेरै मानिसलाई डस्ने गरेको छ । यसको पनि विष लाग्दैन । माछा मार्न र खेतमा काम गर्दा ढोडे सर्पले डस्ने गर्दछ । सर्प आफैँ मानिसका लागि आक्रामक प्राणी होइन । मुसा, भ्यागुता, चरा, अण्डा, कीरो आदि आहारको खोजीमा भांैतारिने क्रममा मानिस बस्ने घरखेत वरिपरि हुने जम्काभेट नै सर्पदंशको कारण मानिन्छ ।

ज्यान जोगाउँदैछन् उपचार केन्द्रले
सर्पले डस्नासाथ उपचारका लागि आउने बिरामी सबैलाई विष सङ्क्रमण भएको हुँदैन । गोमन, करेत, गुर्बे जस्ता विषालु सर्पले डस्दा मात्र बिरामीको ज्यान जाने खतरा हुन्छ । तर, जतिसुकै खतरा भए पनि सर्पदंश उपचार केन्द्रमा छिटै आइपुगेका बिरामीको उपचारपछि ज्यान बाँच्ने गरेको छ । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ की ४० वर्षीया सरिता घिसिङलाई असार १४ गते घाँस काट्दै गर्दा गुर्बे सर्पले देब्रे हातमा डस्यो । एम्बुलेन्स रिजर्व गरेर उहाँलाई सरासर झापाको चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा ल्याइयो ।

त्यसैगरी, भद्रपुर नगरपालिका–१० का ३१ वर्षीय दधी राजवंशीलाई यही असार १६ गते बाख्राका लागि बारीमा घाँस काट्दै गर्दा किराले टोकेजस्तो लाग्यो । केहीबेरमा रगत बगेपछि उहाँ मोटरसाइकलमा बसेर चारआलीको सर्पदंश उपचार केन्द्र आइपुग्नुभयो । सर्पदंशका दुबै बिरामीलाई विषालु करेत र गुर्वे सर्पले डसेको सर्पदंश उपचार केन्द्रका सैन्य प्राविधिक पोखरेल बताउनुहुन्छ । “सर्पले डसेपछि बिरामीले अलमल र हलचल नगरी छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्रमा जानु पर्छ,” उहाँ भन्नुहुन्छ, “विषालु सर्पले डसेको रहेछ भने हामी अवस्था अनुसार एन्टी स्नेक भेनम वा एन्टी बायोटिक औषधिको प्रयोग गरेर उपचारा गर्छौं ।”

सर्पले डसे लगत्तै उपचार केन्द्रमा ल्याइएको जस्तोसुकै बिरामी पनि बाँच्ने पोखरेलले बताउनुभयो । उहाँका अनुसार चेतनाको अभाव र अन्धविश्वासका कारण कतिपय मानिसहरु धामीझाँक्री र तन्त्रमन्त्रतिर अलमलिन्छन् भने कतिपयले डसेको ठाउँमा रक्तसञ्चार ठप्प हुने गरी बाँध्ने, ब्लेडले चिरेर रगत चुस्ने, विभिन्न अनावश्यक रसायन लगाउने, खुर्सानीलगायतका विभिन्न खानेकुरा खुवाउने गर्नाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।

असार १७ गते विहान ८:४० बजेतिर खेतमा आली लगाउँदै गर्दा करेत सर्पले डसेर घाइते हुनुभएको झापाको बुद्धशान्ति–१ का ५३ वर्षीय लिलाप्रसाद न्यौपाने तत्कालै सर्पदंश उपचार केन्द्रमा आएका कारण बाँच्न सफल भएको बताउनुहुन्छ । “आली लगाउँदै थिएँ, चिरिक्क केहीले टोकेजस्तो लाग्यो,” उहाँ भन्नुहुन्छ–“ढिलो नगरी चारआलीको उपचार केन्द्रमा आएँ । अलिकति ढिलो गरेको भए, विष फैलिएर के हुन्थ्यो भन्न सकिने थिएन ।”

गर्मी याममा बिरामी धेरै
सर्पले बाह्रै महिना डस्ने सम्भावना भए तापनि बर्खाको गर्मीमा यो समस्या धेरै बढ्ने गरेको छ । वैशाखदेखि भदौ महिनामा सर्पहरु गुप्तबासबाट बाहिर निस्किएर आहारको खोजीमा डुल्ने हुँदा यहीबेला मानिसलाई डस्ने गरेका छन् । चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा यही वैशाखमा ७४ जना सर्पदंशको उपचार गर्न आएकोमा आठ जना विषालु सर्पले डसेका बिरामी छन् । जेठ महिनामा १२९ जना बिरामी आएको र तीमध्ये २२ जनालाई विषालु सर्पले डसेको पाइएको उपचार केन्द्रले जनाएको छ । असारमा उपचारका लागि आएका १०० जनामध्ये १४ जनामा विषालु सर्पले डसेको पाइएको थियो ।

सेनाको प्रत्यक्ष प्राविधिक निगरानीमा सञ्चालित यो उपचार केन्द्रमा समुदायबाट गठित समिति छ । दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा रहेको समितिले केन्द्रलाई समुदाय र सरकारबाट सहयोग जुटाउन मदत गर्दै आएको छ । भारतको दार्जीलिङबाट समेत सर्पदंशको उपचारका लागि भारतीय नागरिक यहाँ आउने गरेको समितिका अध्यक्ष भट्टराई बताउनुहुन्छ । केन्द्रमा २२ शय्या छ भने एउटा भेन्टिलेटर भद्रपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको भट्टराईले जानकारी दिनुभयो ।

नेपाल सरकारले नै सर्पदंश उपचारका लागि एन्टी स्नेक भेनम औषधि उपलब्ध गराउँदै आएको छ । तर, उपचारलाई व्यवस्थित तुल्याउन व्यवस्थापन समितिले सामान्य उपचार सेवा शुल्क लिने गरेको छ । बेलैमा उपचार नपाएको अवस्थामा विषालु सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । तर, त्यस्ता बिरामी उपचार केन्द्रसम्म नआइपुग्ने गरेका कारण मृतकको तथ्याङ्क भेटिदैन ।

दश वर्षअघिको एउटा अनुसन्धान प्रतिवेदनका अनुसार उसबेला वर्षेनी सर्पदंशबाट नेपालमा तीन हजारसम्मको मृत्यु हुने गरेको थियो । तर, सचेतना बढेको र उपचार केन्द्रको संख्या बढेका कारण हाल सर्पदंशबाट मृत्यु हुनेको संख्या वार्षिक दुई सयभन्दा कम रहेको अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी पशु चिकित्सक डा। रोशिका श्रेष्ठले पनि सर्पदंशबाट हुने मृत्युको आधिकारिक तथ्याङ्क नरहेको स्वीकार गर्नुभयो । रासस