२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार प्यासीद्वारा सडकमा भेटेको सामान सम्वन्धित व्यक्तिलाई हस्तान्तरण



अ+ अ-

भक्तपुर । वरिष्ठ पत्रकार बलराम प्यासीले असार १८ गते बालकोट चोक नजिक मुलसडकमा फेला पारेको लत्ता कपडासहितको झोला सम्वन्धित धनीलाई बुझाईदिएका छन् ।

सुर्यविनायक नगरपालिका वडा नं २ का वडाध्यक्ष एवम् अधिवक्ता प्रदिप कार्की तथा बालकोट प्रहरी प्रभागकी प्रहरी सहायक निरीक्षक ज्योति खडकाको रोहवरमा मंगलबार वडा कार्यालयमा पत्रकार प्यासीले सो सामान सम्वन्धित व्यक्ति सचेत चुडाललाई हस्तान्तरण गरेका हुन् ।

भेटिएका सामानहरुमा अमेरिकाबाट पठाएको एकजोर सेतो स्पोर्ट सुज, एकथान अमेरिकी गगल्स (चस्मा) एकथान सर्ट, एकथान टिसर्ट र दुई पाकेट क्याडबरी चकलेट रहेको र ती सामानको बजार मूल्य करीव २२ हजार रहेको छ । कौशलटारबाट आफ्नो घर ‘बालकोट ग्रिन हाउस’तर्फ जाँदै गरेका प्यासीले सो सामान असार १८ गते सोमबार अपरान्ह २ बजेतिर बालकोटको आशलाल चोकको मुल सडकमा पानीले भिजेको अवस्थामा फेला पारेका थिए ।

 

फेला परेको सामान उनले तत्कालै सुर्यविनायक नगरपालिका वडा नं २ का वडाध्यक्ष कार्कीलाई वडा कार्यालयमै गएर बालकोट प्रहरी प्रभागका प्रहरी हवलदार उत्सव थापाको रोहवरमा जिम्मा लगाएका थिए । भेटिएको सामान वडा कार्यालयमा रहेको जानकारी वडाध्यक्ष कार्कीले सोही दिन तस्वीरसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालको सूचनामार्फत बालकोटकै सुदिप भण्डारीले सामान हराउने व्यक्तिको पहिचान गराएर वडाध्यक्ष कार्कीलाई सम्पर्क गराएपछि सम्वन्धित व्यक्ति सचेत चुडाललाई असार १९ गते वडा कार्यालयमा बोलाई सामान हस्तान्तरण गरिएको थियो । सो सामान अमेरिकाबाट पुजा देवकोटाले बुटबल बस्ने आफ्नो बुबाआमा र आफन्तलाई पठाएकोमा अमेरिकाबाट सामान ल्याउने व्यक्तिसंग बानेश्वरबाट चुडालले संकलन गरि आफ्नो डेरा बालकोटमा जाँदै गरेको अवस्थामा मोटरसाइकलबाट सडकमा खसालेका थिए ।

बानेश्वरबाट मोटरसाइकलको लेगगार्डमा झुण्डयाएर बालकोट डेरातर्फ लैजाने क्रममा कागजको झोला पानीले भिजेर सडकमा खसेपछि पत्रकार प्यासीले सो झोला फेला पारि वडा अध्यक्ष कार्कीलाई बुझाएका थिए । ट्रिटन कलेजमा स्नताक अध्ययनरत चुडालले ती सामान बुधबार नै कुरियर गरि बुटबल पठाइदिएको बताएका छन् ।

सडकमा खसेको सामान वडा कार्यालयमा ल्याएर प्रहरीको रोहबरमा बुझाईदिएकोमा वडाध्यक्ष कार्कीले वरिष्ठ पत्रकार प्यासीलाई धन्यवाद व्यक्त गर्दै बालकोटमा इमान्दार मानिस बस्ने राम्रो कुराको सन्देश दिएकोमा गर्व गरे । वरिष्ठ पत्रकार प्यासी भक्तपुरबाट प्रकाशित हुनेगरेको नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका कार्यकारी सम्पादक तथा आजकोप्रेस डटकमका सहसम्पादक पनि हुन् ।