२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार



अ+ अ-

कास्की । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आयोजित एक खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी खेलाडी सम्मान गर्नुभएको हो । च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद रु ५० हजारका दरले पुरस्कार रकम प्राप्त गर्नुभयो ।

गण्डकीको च्याम्पियन टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार र अरबिना अधिकारी रहनुभएको थियो ।

यसैगरी अन्य खेलाडीमा निरु जिटी, सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रिती पराजुली तथा टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापन एलिशा लामिछाने हुनुहुन्थ्यो । यसअघि सरकारले विजेता खेलाडीलाई भोलिपल्ट अर्थ मन्त्रालयमा सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको थियो तर खेलाडीले घोषित पुरस्कार लामो समयसम्म प्राप्त गर्न सकेका थिएनन् । गण्डकी प्रदेश क्रिकेट सङ्घ, कास्की जिल्ला क्रिकेट सङ्घ तथा खेलाडीले घोषित पुरस्कारका लागि निरन्तर सरकारसँग माग गर्दै आएका थिए ।

तत्कालीन युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कार रकमका लागि फाइल अघि बढ्न नसकेको भन्दै खेलाडी नगद पुरस्कार पाउन वञ्चित भएका थिए । नयाँ सरकार गठनसँगै पुरस्कारबापतको रकम निकासाका लागि प्रक्रिया अघि बढाइएको थियो । पुरस्कारबापतको रकम खेलाडीको व्यक्तिगत बैंक खातामार्फत पठाइएको मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पहिले नै खेलाडीलाई नगदसहित सम्मान गर्ने भनेका थियौँ तर सरकार परिवर्तनलगायतका कारण ढिलो हुन पुग्यो । हामी खेलाडीको मनोबल उच्च होस् भन्नका लागि कामना गर्दछौँ । यो सम्मानले खेलाडीलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु ।”

खेलाडीलाई सम्मान गर्दै मन्त्री सिंखडाले क्रिकेट खेलाडीलाई सम्मान गर्ने विषयमा आफूले संसद्मा समेत प्रतिबद्धता जनाएको बताउनुभयो । खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै पोखरा रङ्गशालामा योगका कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिनुभयो ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले आगामी दिनमा परिषद्ले विभिन्न जिल्लामा प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । खेलकुदका विभिन्न कार्यक्रमलाई जोड्दै दशौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने गरी योजना रहेको उहाँले उल्लेख गर्नुभयो । रासस