२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा नौ हजार छ सय ८३ दुर्घटना: एक सय ७८ को मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार छ सय ८३ सवारी साधन दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा नौ हजार छ सय ८३ सवारी दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको हो । सोही दुर्घटनामा परी दुई सय ४२ जना गम्भीर घाइते र सात हजार तीन सय ६३ जना सामान्य घाइते भएका छन् ।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक रहेका छन् । चालु आवमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन् । यसैगरी पैदलयात्री ५६, साइकलयात्री चार, ट्रक, बस र कार दुर्घटनामा तीन/तीन, माइक्रो तथा टिपरमा दुई/दुई र लोडर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये महिलाका तुलनामा पुरुष बढी छन् । सोही अवधिमा एक सय ३५ पुरुष र ४३ महिलाको दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये आधाभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । कार्यालयका अनुसार १७ देखि ३५ वर्षसम्मका ९२, ३५ वर्षभन्दा माथि उमेर समूहका ७५ र १६ वर्ष मुनि उमेर समूहका ११ जनाले ज्यान गुमाएका छन् ।

चालकको लापरबाहीबाट पाँच हजार सात सय ७५, तीव्र गतिका कारण दुई हजार आठ सय ३१, मादक पदार्थ सेवन (मापसे) का कारण पाँच सय ९५, यान्त्रिक गडबडीका कारण एक सय ४२, ओभरटेका कारण दुई सय २७, सडकको अवस्थाका कारण २१ र मौसमका कारण ३४ सवारी साधन दुर्घटनामा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउनुहुन्छ ।

“दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन ९मापसे० जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिति जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनन्लगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाभित्रको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् । रासस