९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज दिने



अ+ अ-

काठमाडौं । सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनि गर्दै १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताउनुभएको हो । 

२०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेबाट दोस्रो डोज भ्याक्सिन  लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । 

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको जानकारी दिनुभयो । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले ५ देखि ११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो । 

ठुला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको तथा दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रबेश नाकाहरुमा यात्रुहरूलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । सार्वजनिक सेवा प्राप्तिको लागी कोभिड–१९ विरुद्धको खोप अनिवार्य रुपमा लिनुपर्ने कानूनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको उहाँले बताउनुभयो ।

हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र ३  करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाइसकिएको उहाँले उल्लेख गर्नुभयो ।