२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरितालिका (तीज) मनाइयो, पशुपतिमा करिब पाँच लाख दर्शनार्थी



अ+ अ-

काठमाडौँ ।  नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् ।

बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै बढी थिए । आएका धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका छन् ।

बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उहाँले सुनाउनुभयो । भाद्र शुक्ल तृतीयका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् । पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहजरूपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन् । पन्ध्र वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाए जस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरूको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् ।

समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्त्व छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाउँछन् । आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गोदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्छन् । आइतबार राति दर खाएपछि औपचारिकरूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष चौथी र पञ्चमी एकैदिन परेकाले दुवै पर्व मङ्गलबार नै मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपाली नारीले यो पर्व विशेषरूपमा मनाउने गरेका छन् । सञ्चारमाध्यमको प्रचारप्रसारका कारण हाल यो पर्व भारतमा पनि मनाउन सुरु गरिएको कोषले जनाएको छ ।रासस