२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर



फाईल फोटो
अ+ अ-

झापा । घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो देखापरेको सो सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएर अजिङ्गर डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । अजिङ्गर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्दछ । यति टाढा गाउँमा अजिङ्गर कसरी पुग्यो भनेर बन कर्मचारी पनि अचम्मित छन् ।

त्यसैगरी, भद्रपुर–५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रूखमा बेरिएर बसेको ठूलो आकारको अजिङ्गर फेला परेपछि गाउँ त्रसित बनेको थियो । दश केजी तौलको सो अजिङ्गरलाई वन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जङ्गलमा छाडिदिएका थिए । अजिङ्गर दुर्लभ जातको ‘पाइथन’ भएको पत्ता लागेको थियो ।

अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरुमा अजिङ्गर भेटिने गरेका छन् । यी क्षेत्र झापाको जलथल जङ्गल वरिपरि पर्दछ । जलथल जङ्गल अजिङ्गरको मुख्य बासस्थान मानिएको छ ।

जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिङ्गरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक बासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ । वनको उद्धार टोलीले चालु आर्थिक वर्षको पाँच महिनामात्र छवटा अजिङ्गरको उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ११ वटा विभिन्न जातका अजिङ्गर मानिसहरुको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार उद्धार गरिएका सबै अजिङ्गरलाई प्राकृतिक बासस्थानमा छाडिदिने गरिएको छ । उहाँले पाँच केजीदेखि १६ केजीसम्मको अजिङ्गर फेला परिरहेको जानकारी दिनुभयो । “यो संरक्षित वन्यजस्तुहरु मध्येको घस्रने जन्तु हो”, उहाँले भन्नुभयो, “मानिसहरु सचेत छन् दुर्लभ जन्तु भन्ने ज्ञान छ । फेला पर्ने बित्तिकै खबर गर्छन् । हामी उद्धार गरिरहेका छौँ ।”

जीव वैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा के। आर। खम्बूले जिल्लामा पाइने अजिङ्गरहरु दुर्लभ जातिको रहेको बताउनुभयो । उहाँले चिसो मौसममा तातो खोज्दै जङ्गलबाट अजिङ्गरहरु बाहिर निस्कने गरेको जानकारी दिनुभयो । “घस्रने जातका जन्तुहरुको रगत चिसो हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन् ।” उहाँका अनुसार अजिङ्गर मांसाहारी हुने हुँदा जङ्गलमा प्रशस्त मात्रमा आहार पाउने गर्छन् । मानिसको अतिक्रमण बढ्दै जाँदा आहारको खोजीमा अजिङ्गरहरु गाउँ बस्ती प्रवेश गर्ने सम्भावनालाई पनि उहाँले औँल्याउनुभयो । रासस




भर्खरै