२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो



अ+ अ-

फिक्कल (इलाम) । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो ।

गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो ।

“हामीले किसानलाई विभिन्न मेसेरेनरी सामग्री तथा यन्त्र उपकरण अनुदानमा दिएका छौँ । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको छ”, उहाँले भन्नुभयो, “उहाँहरूले पनि उन्नत बीउबिजनको प्रयोग गर्नुभयो । मल र सिँचाइको समेत व्यवस्थापन गर्नुभयो । यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।”

इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिनुभयो ।

यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ । गत वर्ष प्रतिहेक्टर एक दशमलव २० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर एक दशमलव २१ मेट्रिक टन कोदो उत्पादन भएको छ । यस वर्ष एक हजार पाँच सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष एक हजार पाँच सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १६ मेट्रिक टनमात्र कोदो उत्पादन भएको थियो । रासस