काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुर चौकमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्ण कदको जंगे शालिकको अनावरण गर्नुभएको छ ।
स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्तीको अवसरमा शालिकको अनावरण गरिएको हो । शिवराज नगरपालिकाले स्थापना गरेको शालिकको उद्घाटनमा आउनु भएका पूर्वराजा शाहले खरेन्द्रपुरमा रहेको बालहंस सांवेद गुरुकुलस्थित स्वर्गद्धारी मन्दिरको दर्शन गर्नुभएको छ ।
सो अवसरमा गुरुकुलमा रहेका बटुकहरूले स्वस्ती वाचन गरेका थिए। सो अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहका साथमा उनका नाति हृदेन्द्र शाहको समेत उपस्थिति थियो।

शिवराज नगरपालिकाको पहिलो नगरसभाबाट राष्ट्रिय विभूतिको रूपमा रहेका पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो । शालिक निर्माणका लागि २५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको थियो।













