२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्‍याउँछ: मन्त्री आचार्य



अ+ अ-

दमौली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका–५ मानुङकोटमा उद्घाटन गर्दै मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।” मानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले सङ्घ सरकारको समेत यसमा समर्थन रहने बताउनुभयो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको बताउनुभयो । प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छाँै । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो पनि कालोपत्र गर्ने लक्ष्य राखेका छाँै ।”

व्यास नगरपालिकाअन्तर्गतका मगर र गुरुङ गाउँ जोड्ने अल्ट्रा म्याराथन आयोजना गरिएको हो । शहीद दिवसका अवसर पारेर व्यास नगरपालिकाले आज ४४ किमी दूरीको सातौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरेको हो ।

म्याराथनमा एक सय १६ धावकको सहभागिता रहेको छ । म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र र प्रहरीका धावकको समेत सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, धादिङ, चितवन, डोल्पा, रुकुम, काठमाडौँलगायत जिल्लाबाट धावकको सहभागिता रहेको छ । व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलँैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

त्यसका लागि व्यास–४ रेन्ज पोष्ट, व्यास–१० खहरे, व्यास–७ पाथ्रा, व्यास–७ सत्रसय, व्यास–८ रिस्ती सोतीवेशी, व्यास–८ वडा कार्यालय, व्यास–८ गाडापानी र पुलिमराङमा चेकपोष्ट राखिएको छ । अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिनेछ ।

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जित्नुभएको थियो । गत वर्ष ४४ किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गर्दै गुरुङले उपाधि जित्नुभएको हो । त्यस्तै गत वर्षको प्रतियोगितामा व्यास नगरपालिका–६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय हुनुभएको थियो । रासस