३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै



अ+ अ-

धुलिखेल । चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली करिब एक महिनादेखि नै लागिरहेको छ ।

टोलीले कोरेको चित्रकलामा पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्कन्छ । पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको हो । पनौती पर्यटन विकास केन्द्रको अगुवाइमा बागमती प्रदेश सरकारको सहयोगमा सो कलाकृति तयार पार्ने काम भइरहेको केन्द्रले जनाएको छ ।

धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सहर पनौती त्रिवेणीघाट परिसरमा रहेको घरको मन्दिरपट्टी तर्फका घरका भित्तामा बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । चित्रकला कर्माचार्यकै परिकल्पनामा तयार पारिएको हो ।

केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा पर्यटकलाई थप आकर्षित गर्नका लागि त्रिवेणी घाटमा कलाकृति निर्माण गरेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले रु २५ लाख बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

“पनौतीको प्रचारप्रसारको यो नयाँ प्रयास हो, हाम्रो प्रयासलाई पूर्णता दिनका लागि बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “२०७८ सालमा आयोजित मकर मेलामा हाल चित्र कोरिरहेको घरका भित्तामा फ्लेक्स राखिएको थियो ।”

कलाकृति तयारीसँगै त्रिवेणीघाट आसपासमा वृक्ष रोपणको काम भएको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ । निर्माण भएको कलाकृति शालिनदीमा भइरहेको माधव नारायणका व्रतालु स्नानका लागि पनौती त्रिवेणीघाटमा आउने अवसर पारेर उद्घाटन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । उत्तर प्रयागको रुपमा परिचित त्रिवेणीघाट पनौतीको पहिचान हो । रासस