२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्यौदा समितिको प्रतिवेदन स्वीकृत



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको समितिका सभापति आलेमगरले जवाफसमेत दिनुभएको थियो । उक्त प्रतिवेदनमाथि संशोधन राख्न चाहने सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने ब्यहोरा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारीसमेत गराउनुभयो ।

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।

शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गर्दै दिवङ्गत बुढाथोकीको आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट संविधानसभा सदस्यता निर्वाचित सदस्य, पूर्वसामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा यही माघ २२ गते सोमबार राति उपचारको क्रममा असामयिक निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।