२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाफामा कालापत्थरबाट खसिरहेका छन् हिउँका थोपा



अ+ अ-

काठमाडौँ: नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) परिसरको एक कुनामा परैबाट त्रिकोणात्मक आकृतिमा सेता डल्ला टलक्क टल्किएका देखिन्छन् । ती सिर्जनाहरु चुचुरोबाट विस्तारै पहाडमा हिउँका थोपाहरु तपतप झरिरहे झैँ लाग्छन् ।

“जलवायु परिवर्तनका कारण विश्व समस्यामा छ । वतावरण विनाशमा सबै नागरिक कुनै न कुनै रुपमा सहभागी छौँ, यसबाट कोही पनि अछुतो छैन । त्यसकारण यो कृति पूर्ण हुन पनि हामी सबै सहभागी हुनुपर्छ भनेर देखाएको हुँ”, प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफ्नो सिर्जनाबारे खुलाउँदै राससँग भन्नुभयो ।

उपकुलपति लामाले प्रतिस्थापन कलामार्फत जलवायु परिवर्तनका कारण हिमालबाट पग्लिरहेको र त्यसरी हिउँ खस्नुमा हामी सबैको भूमिका छ भनेर देखाउनुभएको छ ।

विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनमा हरेक मानिस सहभागी छ, त्यो हामीले बेलैमा रोक्न सकेनौँ भने हिमालहरु सकिने छन् । यसतर्फ ध्यान जानु पर्यो भनेर उहाँले कलामार्फत विश्व समुदायकै ध्यानाकर्षण गराउनुभएको छ ।

चुहिँदै गरेको हिउँको थोपालाई विम्ब बनाएर उहाँले प्राकृतिक सम्पदा विनाशोन्मुख भइरहेको देखाउन एक महिना यस्ता सिर्जनामा समय दिनुभएको थियो । प्रकृति प्रदत्त वस्तुको विनाशमा हामी सबै सहभागी छौँ भन्ने देखाउन उहाँले हिउँका थोपारुपी माटोका डल्लामा रङ दलेर तयार पारिएका सामग्री एकएक आगन्तुकलाई राख्न लगाएर कृतिलाई पूर्णता दिइरहनुभएको छ । उहाँले फलामको त्रिकोणात्मक आकृतिलाई जोडेर पहाडको प्रतीक निर्माण गर्नुभएको छ । उहाँले माटोमा रङ लगाएर हिउँका थोपा बनाउनुभएको छ । फलामको त्रिकोणलाई हिमालको प्रतीक मानेर त्यसमा मसिनो डोरी लगाएर हिमालबाट हिउँका थोपा चुहिरहेको देखाउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा एक महिने ‘प्र–कृति : प्रतिस्थापन कला प्रदर्शनी २०८०’ हेर्न आएका कला पारखीलाई उपकुलपति लामा एक एक थोपा जोड्न लगाएर कलालाई पूर्णता दिइरहनुभएको छ ।

अर्का कलाकार सुष्मा सिंहले ढुङ्गामा फूल फूलाउन खोज्नुभएको छ, जुन फूल सदावहार रहिरहन्छ । जनजीवनमा जति पनि बाधा आउँछन् त्यसलाई सहज रुपमा लिनुपर्छ भन्ने देखाउन उहाँले ढुङ्गालाई प्रयोग गर्नुभएको छ ।

सेरामिक्सका दर्जनौँ ढुङ्गा बनाएर उहाँले त्यही ढुङ्गामा फूल फुलाउनुभएको छ । फलामका तारहरुको फुल बनाएर जोड्नुभएको छ । “आशा बाँचिरहोस् भनेर मैले ढुङ्गामा कहिल्यै पनि नओइलिने फूल फुलाउन खोजेकी छु । आशाहरु सकारात्मक हुनुपर्छ भनेर देखाउन खोजेकी हुँ ।”

प्रकृति र मान्छेबीच द्वन्द्व चलिरहेको छ । मानिसले प्रकृतिको विनाश गरिरहेको र त्यसै गरी प्रकृतिले पनि विभिन्न विपत्तिहरूका माध्यमबाट मानिसलाई सजाय दिइरहेको छ । यो प्रदर्शनीले त्यसको जीवन्त चित्र प्रस्तुत गरेको छ । अर्का कलाकार सागर मानन्धरले सङ्घर्षपूर्ण जीवनलाई देखाउनुभएको छ । तेल उत्पादन गर्ने प्रक्रियासँग जोडेर उहाँले कला सिर्जना गर्नुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला ९बहुआयामिक कला० विभागककी प्रमुख, प्रतिष्ठानकै प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले प्रकृतिसँग जीवनको सङ्गम कस्तो छ भनेर प्रष्ट्याउनुभएको छ । मानिसको जन्म र मृत्यु प्राकृतिक नियम हो । प्रकृति अर्थात् रुख, पत, पतिङ्गर, मुढाहरुले पनि आफ्नो अस्तित्व बोकिरहेको छ । ती प्रकृतिहरु कदमकदम मानवसँग आबद्ध भएर नै बसिरहेको हुन्छ ।

आफूले बनाएको प्रतिस्थापन कलाको विम्ब काठको मुढालाई देखाएर उहाँले भन्नुभयो, “मुढाहरुले मानिस जन्मिँदा तापको रुपमा ऊर्जा दिएको हुन्छ भने मृत्यु हुँदा पनि यसैको तापसँग विलीन भइन्छ । रुखको सम्बन्ध मानिस जन्मेदेखि मुत्युसम्म हुन्छ भनेर मैले देखाउन खोजेकी हुँ, मेरो जीवनसंगी भनेको यही रुख र प्रकृति हो ।”
मनिषलाल श्रेष्ठले थरिथरिका कपडामा सफेद रङ भरेर नौलो सन्देश छर्नुभएको छ । मानिसको दोस्रो छाला ‘लुगा’ एक वैचारिक कला रुपात्मक मानव खोलको रुपमा अभिव्यक्त छ ।

मान्छेलाई शुरुमा चिन्ने भनेको लुगाबाट हो । व्यक्तिको लवाइबाट समाजले त्यही किसिमले सोचाइ बनाउँछ । अनि उसभित्र के छ भनेर बाहिरको प्रस्तुतले दर्शाउँछ । त्यसैलाई उहाँले कलामार्फत देखाउन खोज्नुभएको छ । जहाँ लामबद्ध रुपमा कपडाहरु राखिएको छ । उहाँले मानव सुमदायलाई अनुशासनको पाठसमेत सिकाउनुभएको छ ।

मानिसमा अन्तरआत्मा र बाहिरी कुरा हुन्छ । त्यो दुईबीच हरेक मान्छेमा द्वन्द्व हुन्छ । लहरै रङ पोतेर झुण्ड्याइएका लुगा देखाउँदै उहाँ भन्नुहुन्छ, “यो लुगा भनेको मान्छेको बाहिरी आवारण हो । यसलाई बढी मान्छेले माया गर्ने रहेछ, भित्रको आफ्नो अस्तित्वभन्दा । त्यो भित्र र बाहिरको विरोधाभाषलाई दर्शाउन खोजेको हुँ।”

नजिकै विनय रिमालले चराको गुणलाई विम्ब बनाएर प्रकृति विनाश भइरहेको देखाउनुभएको छ । वातावरणीय प्रभावले चराहरुलाई असर गरिरहेको छ भनेर देखाउनुभएको छ । चराका फुलहरु भुँइभरी छन्। रुखभरी गुँडहरु देखाइएको छ ।

प्रतिस्थापन कलामा सुशान्तसिंह राजभण्डारीले मन्दिरमार्फत शान्तिको सन्देश छर्नुभएको छ । अर्का कलाकार मिना कायस्थले पनि प्रतिस्थापन कलामार्फत समाजसँगको मानवसम्बन्धका बारेमा सन्देश दिनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रतिस्थापन कला भनेकै बहुमाध्यमको प्रयोगबाट विभिन्न भावहरूलाई प्रस्तुत गर्ने कला हो भन्नुहुन्छ । उहाँले प्रतिस्थापन कलामा प्राकृतिक वस्तुहरूको प्रयोगबाट प्रकृतिसँगको सम्बन्धलाई अत्यन्त सुन्दर ढङ्गले कलाकारहरूले प्रस्तुत गर्नुभएको स्मरण गर्नुभयो ।

“कुनै पनि वस्तु स्वयमले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्ने र फरक–फरक वस्तुलाई फरकफरक भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुन्छ, सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा उठान गर्न जरुरी छ, प्रतिष्ठानले अहिले त्यही कार्य अघि बढाएको छ, यो त्यसैको सङ्केत हो”, उहाँले भन्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको असरबारे हिमालको रहस्य कला सिर्जना र प्रदर्शनीमार्फत पनि हामीले त्यो सन्देश दिन खोजिरहेका बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ प्रतिस्थापन कलाको महत्व प्रत्यक्ष रुपमा अनुभूत गर्न सकिने बताउनुहुन्छ । यहाँ प्रदर्शन गरिएको प्रतिष्ठापन कलाले समाजमा देखे भोगेका घटनाहहरुलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उहाँले स्मरण गर्नुभयो ।

प्रकृतिलाई विशेष प्राथमिकतामा राखी प्रकृतिकै काखमा रमाएर दुई साता अघिदेखि सिर्जना गरिएको कलाहरु यहाँ प्रस्तुत गएिको छ । प्रतिष्ठाको कार्यालय नक्सालमा जारी प्रदर्शनी चैत ३ गतेसम्म रहने छ । यहाँ मुख्यत: प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।  नारायण ढुङ्गाना /रासस