२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू



अ+ अ-

गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् ।

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उहाँले बताउनुभयो। “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “बागलुङ नगरपालिकाले प्रदान गरेको रु एक लाख ५० हजारबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौँ, रु ५० हजार सिक्ने खर्च हो भने रु एक लाखमा बाजा खरिद गरेका छौँ ।”

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उहाँ बताउनुहुन्छ । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् ।

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमुना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आमा समूहको आयआर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ, उहाँहरूलाई सक्रिय बनाउन नगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।” रासस