२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक



अ+ अ-

गलेश्वर । म्याग्दीको दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।

नीलो आकाशमुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस । क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल । तरेली परेको भिरालो भूगोलमा ढुङ्गाको सिँढी बनाएर चिटिक्क पारिएको पदमार्ग । प्रकृतिको यौवन छचल्किए जस्तो देखिने उक्त लेकमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको मालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।

दुई वर्षअघि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको गरी करिब रु ३० लाख लागतमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष बुढाथोकीका अनुसार समुद्री सतहबाट तीन हजार चार सय ८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गरेका हुन् । उहाँका अनुसार प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रूपमा दुरुलेक महत्वपूर्ण छ ।

वडाध्यक्ष बूढाथोकीले भन्नुभयो, “पछिल्लो समय यहाँ आन्तरिक पर्यटक रमाउन आउने गरेका छन् । विशेषगरी बागलुङ र म्याग्दीका पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन् । गण्डकी प्रदेश सरकारको थप रु १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ ।”

मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट दक्षिण भागमा पर्ने रुमगाउँ कूल २०।७४ वर्ग किलोमिटर फैलिएको छ । यहाँको अधिकांश भाग वन क्षेत्रले ओगटेको छ । गाउँको शिरानमा पर्ने दुरुलेकमा लालीगुराँसको घनाजङ्गल, दर्जनौँ हिमालको दृश्य तथा म्याग्दी, बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा देख्न सकिन्छ ।

यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरिलगायत हिमाल नजिकबाट देख्न पाइने मालिका–२ रुमका वडासदस्य भक्तबहादुर पुनले बताउनुभयो । “प्राकृतिक दृश्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकबाट झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ । पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ”, उहाँले भन्नुभयो, “वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटकको पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधार निर्माणमा जोड दिइरहेका छौँ ।”

जिल्ला सदरमुकाम बेनीबजारबाट मालिकाको केन्द्र दरबाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनबाट यहाँ पुग्न सकिन्छ । घाङ्ले पानीबाट करिब चार घण्टामा लालीगुराँसको घनाजङ्गल हुँदै गाईभैँसी र भेडाबाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन् ।

गुराँसे जङ्गलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको भन्दै हिउँदमा यहाँ गाईभैँसी र भेडाबाख्राका लागि गोठको व्यवस्था गरिएको स्थानीय धन विकले बताउनुभयो ।

“मालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका–५ सीपको सिमानामा पर्दछ, दुरुलेक । प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक एकताले युक्त दुरुलेकमा प्रशस्तै पर्यटकीय सम्भावना छन”, दरबाङस्थित होटल हिमालका सञ्चालक अमृत सापकोटाले भन्नुभयो । उहाँका अनुसार रुमसम्म सवारीसाधन र त्यहाँबाट करिब चार घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ ।

दुरुलेकमा भीर मौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावन रहेको सापकोटाले बताउनुभयो । “पहरामा बग्रेल्ती भिरमौरीका गोला छन् । त्यहाँका भिरमा रुम र बागलुङको ताराखोलाका मह सिकारीले परम्परागत रुपमा मह निकाल्दैँ आएका छन्”, उहाँले भन्नुभयो ।

बागलुङ जिल्लासँग जोडिएकाले दुरुलेकमा बागलुङबाट पनि पर्यटक आउने गरेका स्थानीय बताउँछन् । अधिकांश पर्यटक दुरुलेकबाट फर्केर रुममा एक रात बास बस्ने गरेका सापकोटाको भनाइ छ ।

यहाँ मकै, कोदो, गहुँ जौँ, फापर, आलु, रातोच्याउका आग्र्यानिक परिकार खान पाइन्छ । चैत र वैशाखमा दुरुलेक डाँडाको दृृश्य निकै नै रमणीय देखिने यहाँ स्थानीयको भनाइ छ ।