२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार



अ+ अ-

म्याग्दी । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।

ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो । पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा रु ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका–९ घतानका वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

“बेनी र गलेश्वर आउने पर्यटक तथा भक्तजनको बसाइ लम्ब्याउने उद्देश्यले ढोलठानामा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको हो”, उहाँले भन्नुभयो, “गलेश्वरदेखि घतान हँुदै ढोलठाना जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न अध्ययन थालिएको छ ।”

यस वर्ष गण्डकी प्रदेश सरकारको रु १० लाख बजेटबाट ढोलठाना दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम गरेर दृष्यावलोकन स्थल, पैदलमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ ।

वडा सदस्य गणेश सुवेदीले ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृष्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको जानकारी दिनुभयो । प्रदेश सरकारकै थप रु १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण थालिएको छ ।

यसअघि रु ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको थियो । तत्कालीन राजा बम मल्लको समयमा विसं १६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीकारुपमा रहेको थियो ।

नीलबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाँले ढोलठानामा उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षितरुपमा राखिएको बताउनुभयो । उहाँका अनुसार तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर र इँटा भेटिएको थियो ।

समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनौँ हिमाल, सूर्योदयोको मनमोहक दृष्यको अवलोकन गर्न सकिन्छ । पूर्वाधार निर्माणसँगै बेनी र अन्य ठाउँबाट आएका पर्यटकको चहलपहल बढेको स्थानीय रामबहादुर शाहीले बताउनुभयो ।

“नागबेली परेर बगेको म्याग्दी नदीका साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो”, उहाँले भन्नुभयो, “सडक यातायात सुविधा र प्रचारप्रसारसँगै चहलपहल बढेको हो ।” रासस