२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपालको ओतमुनि तातोपानी कुण्ड: बिरामीलाई सास्ती



अ+ अ-

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरु तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् ।

अघिपछि कुनै समस्या नहुने भए पनि ठूलो पानी पर्दा र चर्को घाम लाग्दा भने समस्या उत्पन्न हुने र बिरामीले सास्ती व्यहोर्नुपर्ने कुण्डमा डुब्न आउनुभएको चिमखोलाका शेरबहादुर पुनले बताउनुभयो । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको यस कुण्डको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यसअगाडि सानो पोखरी रहेकोमा तीन वर्षअघि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पुनले  जानकारी दिनुभयो ।

रघुगङ्गा नदीको किनारमा अलगअलग ठाउँमा चार वटा पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ । मुख्य कुण्डको माथि त्रिपाल हालेर घाम पानी छेक्ने बनाइएको अध्यक्ष पुनले जानकारी दिनुभयो । मन्दिरको दाँहिनेतर्फ रहेको तातोपानीको पोखरीमा त्रिपालको छाना हालिएको छ । सो पोखरीमा एकपटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीन वटा पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्न सक्नेगरी पक्की पर्खालसहित निर्माण गरिएको छ ।

यी पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरी पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ । सो मुहानको पानी सङ्कलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्या निको हुने विश्वास छ ।

यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकलाई बस्न मिल्ने स्थानको निर्माण पनि यस अगाडि भइसकेको स्थानीय ललिता गर्बुजाले बताउनुभयो । यस पोखरीको नजिक एउटा आकर्षक झरनासमेत रहेको छ । यस स्थानलाई सुरक्षित राख्नका लागि अहिले तटबन्धको कार्यसमेत भइरहेको समितिले जनाएको छ ।

यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाटसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताउनुभयो । रासस