२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी



अ+ अ-
गलेश्वर । यहाँका प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।
जिल्लामा रहेका नदी, खोला, वन, पाखोजग्गा, हिमाल, बुकी, खर्क, भीर र खेतीयोग्य जमिनको प्रयोग गरी यहाँका स्थानीयले आयआर्जन गर्न थालेका छन् । कृषि, पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदाको प्रयोग गर्न थालेपछि जिल्लाका नागरिक आत्मनिर्भरतातर्फ अग्रसर हुन थालेका हुन् ।
‘लाहुरेको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीका बासिन्दा विगत एक दशकयता जल, जमीन, जङ्गललगायत प्राकृतिक सम्पदाको पहिचान र सदुपयोगबाट प्रशस्त आयआर्जन गर्न थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
एक दशकअघि यो जिल्ला विप्रेषण र व्यापारबाट मात्र धानिएको थियो । अहिले पर्यटन, साना तथा घरेलु उद्योग, विद्युत्, कृषि तथा वनसम्पदा, जैविक विविधताले समृद्ध बन्दै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । गाउँगाउँमा विस्तार भएको व्यावसायिक तरकारी तथा फलफूल खेती, पशुपालन, जडीबुटी, सहकारी संस्था र लघु तथा घरेलु उद्योगले स्थानीयको आयआर्जन र जीवनशैलीमा परिवर्तन आएको उहाँको भनाइ छ ।
छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीका सबैजसो वडामा व्यावसायिक रूपमा आयआर्जनमूलक व्यवसाय सञ्चालन भएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार पालिकामा व्यावसायिक तरकारी, फलफूल खेती र पशुपालन गर्ने कृषकको सङ्ख्या विगत पाँच वर्षयता २५ प्रतिशत वृद्धि भएको छ । तीमध्ये अधिकांश युवा छन् ।
सङ्घका अध्यक्ष श्रेष्ठका अनुसार ‘हाइड्रो हब’ को नाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १९ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । प्रमुख नदी कालीगण्डकी, रघुगङ्गा, म्याग्दी र अन्य खोलाबाट १९ जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निर्माणाधीन आयोजनाबाट छ सय ७० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणले राखेको छ ।
जिल्ल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाका अनुसार कालीगण्डकी, म्याग्दी र रघुगङ्गाका साथै सहायक नदीबाट विद्युत् उत्पादनमा १५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् ।
जिल्लाका कृषकले तरकारी र फलफूल खेतीबाट मात्रै वार्षिक रु ७० करोडभन्दा बढी आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । कृषकले सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु २१ करोडभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
पशुपालन यहाँका कृषकको आम्दानीको अर्को माध्यम बनेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रका प्रमुुख डा भरत रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पशुजन्य उत्पादनमा लागेका एक सयभन्दा बढी कृषकको वार्षिक आय प्रतिव्यक्ति रु २० लाखभन्दा बढी छ ।
जिल्लामा गाई, भैँसी, बाख्रा, भेडा, कुखुरा, बङ्गुर, खरायो र चौँरीपालन व्यावसायिक बन्दै गएको छ । दुई सयभन्दा बढी किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका केन्द्रका प्रमुुख डा रेग्मीले जानकारी दिनुभयो ।
वार्षिक रु ५० करोडभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको बिक्री हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रले जनाएको छ । मासुका लागि व्यावसायिक रूपमा कुखुरा, बाख्रा, बङ्गुर पाल्ने कृषकले वार्षिक रूपमा रु पाँच लाख देखि २० लाखसम्म आम्दानी गर्ने गरेका केन्द्रका प्रमुुख रेग्मीले जानकारी दिनुभयो ।
जडीबुटी र पर्यटन पनि म्याग्देली जनताका लागि आयआर्जनको बलियो माध्यम बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँका अनुसार सङ्घको पहलमा जिल्लामा विस्तार गरिएको टिमुर खेती, मौरीपालन र खरायोपालन पनि कृषकको आम्दानी स्रोत माध्यम बनेको छ ।
खेर गएको जमिन सदुपयोग गरी विस्तार गरिएको टिमुर खेतीबाट तीन वटा पालिकाका दुई सयभन्दा बढी व्यक्तिले आम्दानी गरिरहेका छन् । गत वर्ष टिमुर बेचेर जिल्लामा रु २० लाखभन्दा बढी भित्रिएको थियो ।
जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रमा यार्सागुम्बा, पाँचऔँले, सतुवा, जटामसी जस्ता जडीबुटी, भीरमह, शिलाजितलगायत प्रकृतिमा आश्रित स्रोतबाट स्थानीयले मनग्ये आम्दानी गरिरहेका जिल्लास्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा वन तथा वातावरणका जानकार चन्द्रमणि सापकोटाले बताउनुभयो ।
पर्यटन र जलविद्युत्तर्फ पछिल्लो समय यहाँका नागरिक आकर्षित भएका छन् । राउण्ड अन्नपूर्ण र राउण्ड धवलागिरि क्षेत्रमा समेटिएको म्याग्दीमा घोडेपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरना, तातोपानीका कुण्ड, धवलागिरि, निलगिरि, गुर्जालगायत हिमश्रृङ्खला, १९ प्रजातिका लालीगुराँस फुल्ने जङ्गल, कालीगण्डकी, म्याग्दी र रघुगङ्गाजस्ता जलाधार क्षेत्र, धार्मिक र ऐतिहासिकस्थल प्रशस्त छन् ।
यी क्षेत्रको भ्रमणका लागि वार्षिक ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क छ । पदमार्ग, मोटरबाटो, ग्रामीण क्षेत्र र शहरका होटल, जल, पसल, यातायातलगायत क्षेत्रमा आवद्ध करीब १० हजारभन्दा बढी म्याग्देलीले पर्यटक र पर्यटन व्यवसायबाट लाभ लिएका छन् ।
जिल्लामा उपचार पर्यटन फस्टाउँदो क्रममा छ । यहाँका तातोपानी कुण्डहरूमा नुहाउने र छाला, बाथसम्बन्धी रोग निको पार्ने अभ्यास धेरै पहिलेदेखि हुँदै आएको छ । सिङ्गा तातोपानीमा बर्सेनि दशौँ हजार मानिस नुहाउन आउँछन् ।
उत्तरी म्याग्दीको भुरुङतातोपानीमा मुख्यतः अन्नपूर्ण राउण्ड पदयात्रामा आउने पर्यटकले आनन्द लिने गरेका छन् । यी दुवै तातोपानी कुण्डले जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । जिल्लाको खोप्रालेकमा हरेक वर्ष साउन र वैशाखमा चौँरीको रगत पिउने मेला लाग्दछ । मेलामा दुई हजारदेखि पाँच हजारसम्म मानिस पुग्ने गरेका छन् ।
जिल्लामा सांस्कृतिक महत्वका केही बस्तीहरू ग्रामीण पर्यटकका लागि आकर्षक भएका छन् । यहाँका विभिन्न स्थानमा तामाखानी, शिशाखानी, स्लेट ढुङ्गा र खरी ढुङ्गा खानी छन् । तामा, शिशा, स्लेटजलगायत खनिजको उत्पादन गरी निकासी गर्न सके प्रशस्त आयआर्जन गर्न सकिन्छ । यहाँ सञ्चालनमा रहेका खानीसमेत सरकारले बन्द गरेका कारण नयाँ खानीको उत्खनन हुन नसकेको स्थानीय बताउँछन् ।
यहाँको हिमाली भेगका गुर्जा, मुदी, कुइनेमङ्गले, चिमखोला, नारच्याङलगायत ठाउँमा  यार्सागुम्बाको सङ्कलन हुने गर्छ । पछिल्ला वर्षहरूमा यहाँबाट करोडौँ मूल्यको यार्सागुम्बा निर्यात हुने गरेको छ । यार्सागुम्बाबाहेक सतुवा, पाँचऔँले, नीरमसी, कटुकी, सिलटिमुर, टिम्मुर, बोझो, हर्रो–बर्रो–अमलालगायत जडीबुटी, लोक्ता, अल्लोपुवा, लालीगुराँसको जुस, चिमखोले डोकोलगायत वनपैदावार जिल्लामा उत्पादन तथा सङ्कलन भई निकासी हुने गरेका छन् ।
जिल्लाका करिब २० हजार महिला/पुरुष र वैदेशिक रोजगारीबाट फर्केकाहरू व्यावसायिक आयआर्जनमा लागेका तथा व्यापार व्यवसायतर्फ करिब आठ हजार संलग्न रहेका छन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको कूल जनसङ्ख्याको सात प्रतिशत म्याग्देली बसाइँसराइ गरी बाहिर जाने गरेका छन् । रासस