८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले



अ+ अ-

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा आज उहाँले नेपालकै मध्यभागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन योजनाबद्ध ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुदमा नेपालले धेरै प्रगति गरेको छ । अहिलेको बजेटमा पनि खेलकुदतर्फको रकम केही वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्छ । यहाँ खेलकुद विकासका लागि के गर्न सकिन्छ त्यसबारेमा सम्बन्धित पक्षसँग पहल गर्नेछौँ ।” नेपालमा खेलकुद कूटनीतिलाई अगाडि बढाउनुपर्ने अवस्थासमेत औँल्याउनुभयो । नेपालमा केही भएन भन्ने युवामाझ नैराश्यमात्रै रहेकाले त्यस्तो भाष्यलाई चिर्न अब कुराभन्दा काममा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

आज घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ । दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेट खेल्दै गर्दा खेल स्थगित भएको हो ।

भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो । शुक्लागण्डकीले भिमादलाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनलयात्रा तय गरेको थियो । घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो । तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल भएकामा भिमाद तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार एक सय ११, द्वितीयलाई रु ५१ हजार एक सय र तेस्रो हुनेलाई रु २५ हजार एक सय ११ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिकाबाहेक नौवटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा ऋषिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र देवघाट गाउँपालिकाको सहभागिता जनाएका छन् ।