२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति



अ+ अ-

काठमाडौँ : असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ ।

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजागरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो ।

दक्षिणायन सुरु

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरू हुन्छ । माघ १ गते उत्तरायण र साउन १ गते सुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । एक महिना काम गरेका किसानले साउन १ गते आज आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् ।

साउन महिना विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

यस महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । साउन शिवजीको मास र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।

यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्रमा आजैदेखि कोटीहोम र शिवपुराणको पाठ पारायण पनि सुरू भएको छ ।रासस