२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर सडक



फाइल फाेटाे
अ+ अ-

नवलपुर । ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताउनुभयो । “यो करिडोरले पहाडी क्षेत्रका बासिन्दाको यात्रालाई सहज भएको थियो । तर विभिन्न ठाउँमा खसेका पहिरोले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो पहिरो गैँडाकोट, बुलिङटारलगायतका क्षेत्रमा छन् ।” पहिरोले सडक अवरुद्ध हुँदा सामान्य रुपमा पहिरो हटाइए पनि पूरै सफा गर्न नसकिएको उहाँको भनाइ छ ।

“पहिरो आएर सडक रोकिन्छ, अलिअलि हटाउँदै यातायात सञ्चालन गरिँदै आएको छ,” उहाँले भन्नुभयो, “पहिरो पूर्णरुपमा नहटाउँदा सानो पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुन: सडक अवरुद्ध हुने गरेको छ ।” पहिरोले सडकसमेत भासिएको तिवारीले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भासिएको सडक मनसुनपछि मर्मत गरिने बताउनुभयो । “अहिले पानी परिरहेको छ, पहिरो पूरै सफा गर्‍यो भने फेरि उस्तै हुन्छ, अब मनसुन सकिएपछि राम्रोसँग सफा गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “भासिएको सडक पनि पानी पर्न रोकिएपछि निर्माण कम्पनीले बनाउने भनेको छ ।” करिडोरमा खसेको पहिरो रोकथामका लागि बजेट नभएको उहाँको भनाइ छ ।

“पहिरो नियन्त्रणका लागि धेरै बजेट लाग्छ, हामीले बजेटका लागि मन्त्रालयलाई पत्र लेखेका छौँ” उहाँले भन्नुभयो, “पहिरोको दीर्घकालीन समाधान नगरी सामान्य रुपमा हटाउने हो भने समय र पैसा खेर जान्छ ।” करिडोरको विभिन्न ठाउँमा एक किलोमिटर भन्दा लामो पहिरो गएको योजना प्रमुख अधिकारीले बताउनुभयो । करिडोरको पहिरो जोखिम क्षेत्रबाहेक सबै सडक कालोपत्र सकिएको उहाँको भनाइ छ ।

पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का आह्वान गरेर काम गरिने भए पनि सडक भासिएको ठाउँमा निर्माणको जिम्मा पाएकै व्यवसायीले सडक मर्मत गर्ने उहाँले बताउनुभयो । “गैँडाकोट–राम्दी–पीपलबोट खण्ड इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड काठमाडौँले बनाएको हो, गत वर्ष निर्माण सकिएको सडक आगामी मङ्सिरमा हस्तान्तरण गर्ने तयारी भइरहेको थियो,” उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएको एक वर्षभित्र सडक बिग्रिएमा भासिएमा निर्माण कम्पनीले बनाउनेगरी सम्झौता भएकाले अब सडक भासिएको ठाउँमा निर्माण कम्पनीले सडक बनाएर हस्तान्तरण गर्नुपर्छ ।” निर्माण कम्पनीलाई पूरा पैसा भुक्तानी नगरिएको भन्दै उहाँले सडक मर्मतपछि मात्रै भुक्तानी गरिने बताउनुभयो ।

बुलिङटार गाउँपालिका–१ को देउढा नजिकै करिब १५ मिटर सडक भासिएर कालीगण्डकी नदीमा पुगेको छभने विभिन्न ठाउँमा सडक चर्किएको छ । भासिएको ठाउँमा भित्ता काटेर सवारीसाधन एकतर्फी सञ्चालन गरिएको छ । रासस