२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक एक हजार पाँच सयसम्म आम्दानी



अ+ अ-

भजनी । भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ । वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया ९माछा मार्ने साधन० लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्नुहुन्छ ।

खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै माछाको खोजीमा जाने गरेको उहाँ बताउनुहुन्छ । “घरमा खासै काम हुँदैन । फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मरे पनि आफूलाई खान हुन्छ । बढी भए सुकाएर भोलिका लागि हुन्छ । त्यो भन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ ।” उहाँ भन्नुहुन्छ, “हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्नमै बितेको छ ।”

वर्षात्को समयमा थारू समुदायका लागि सोमती एउटा उदाहरण मात्र हुन । नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गरेका छन् । कतिपयले त्यसलाई वर्षात्को समयमा आम्दानीको स्रोत नै बनाएका छन् । “घरमा चारजना छौँ । दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ”, भजनीकै जितेन्द्र चौधरी भन्नुहुन्छ, “केही भएन भने पनि दिनमा तीन–चार केजीसम्म सङ्कलन भइहाल्छ । त्यो बिक्री गरेपछि रु एक हजारदेखि एक हजार पाँच सयसम्म आइहाल्छ ।” उहाँले झिँगामाछा र घोँगी बेचेर साउनमा लगभग रु ६५ हजार आम्दानी गरेको सुनाउनुभयो ।

भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ । कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ । डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउनुहुन्छ । “नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन् । त्यसमा जाल हाल्यो भने दुई–तीन केजी दिनमा भेट्टाइन्छ”, उहाँले भन्नुभयो, “बिक्री गर्नका लागि बजारको समस्या छैन । नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ ।” आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायले फुर्सदको अधिकांश समय माछाको खोजीमा बिताउने गरेको रञ्जितले बताउनुभयो ।

बजारमा घोँगीको मूल्य प्रतिकेजी रु दुई सयसम्म छ । झिँगामाछा रु चारदेखि छ सयसम्म बिक्री हुन्छ । ठूलो माछा रु आठड सयसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउनुहुन्छ । उहाँका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी ल्याउने गरेका छन् । तीन–चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उहाँको भनाइ छ । “दैनिक १०–१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ । बढी भएको अन्य होटलमा पठाउँछौँ ।” जीतबहादुरले भन्नुभयो, “यो याममा एउटै महिलाले रु ६० देखि ७० हजारसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको मैले देखेको छु ।”

फुर्सदको समयमा माछा र घोँगीबाट राम्रो आम्दानी भए पनि जोखिम त्योभन्दा बढी छ । धमिलो फोहर पानी, हिलाम्मे भएर दिनभर चर्को घामको राप स्वास्थ्यको दृष्टिकोणले निकै जोखिम छ । वर्षामा भिज्दा झन् डर हुन्छ । डर हुँदाहुँदै पनि पैसाको अगाडि सबै बिर्सने गरेको विन्दु चौधरीको भनाइ छ । “पानी तलको भुइँ देखिँदैन । अनुमानका भरमा जोखिम मोलेर हातले घोँगी खोज्नुपर्छ ।” उहाँले भन्नुभयो, “हातमा सधैँ घोँगी आउँछ भन्ने छैन । फोहर पानीमा डुबेको शरीरले कुन रोगको सङ्क्रमण निम्त्याउने हो, त्यसको ख्याल गरिँदैन ।” जोखिम मोलेरै भए पनि वर्षात्को सुरुआती चरणमा घोँगीबाट र अन्तिम चरणमा माछाबाट सोचेभन्दा राम्रो कमाइ हुने गरेको उहाँको भनाइ छ ।




भर्खरै