२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘वसन्त’को शुभमूर्हत, कसकसले गर्दैछन् अभिनय ?



अ+ अ-

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ । चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायाँकनको सुरुआत गर्नुभयो । सोही क्रममा चलचित्रमा सपना विकको भूमिकामा रहनुभएकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रहनुभएका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाउनुभएको थियो ।

शुभमूर्हत समारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहनुभएका अभिनेता सपूतले चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताउनुभयो । चलचित्रको ९० प्रतिशत छायाङ्कन आफ्नो गृहथलो बागलुङमा हुने उहाँको भनाइ छ ।

“चलचित्रलमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।”

चलचित्रलमा आफ्नै जन्मगाउँ बागलुङ्को धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ । अभिनेता सपूतले चलचित्र ‘वसन्त’ मार्फत बागलुङको सभ्यता, कला, संस्कृति र जनजीवनका कथाव्यथा उजागर गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अभिनेत्री खड्काले चलचित्र छायाङ्कनका क्रममा बागलुङ आउन पाउँदा थप ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । गलबन्दी प्रडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार दुई महिनामा चलचित्र छायाँकन पूरा गर्ने लक्ष्य लिइएको छ ।

चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौँ र तराईमा गरिने उहाँको भनाइ छ । गायन क्षेत्रमासमेत चर्चित सपूतले पहिलोपटक आफ्नै चलचित्र निर्देशन गर्न लाग्नुभएको हो । गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लाग्नुभएको हो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी–२’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफँै मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ ।

‘परदेशी–२’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उहाँको भनाइ छ । चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक सपूतले बताउनुभयो । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उहाँको भनाइ छ ।

चलचत्रिमा ‘शान्ति’ पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनुभएको छ । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पार्नुभएको छ । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । चलचित्रको शुभमूर्हत समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलगायत उपस्थित रहेका थिए । रासस