२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी मन्त्री डा राणाले सोमबार न्युयोर्कमा महिला राजनीतिक नेताहरुको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै बिगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भएपनि पछिल्ला बर्षहरुमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सबैभन्दा पहिला त खुसीको कुरा म के सुनाउन चाहन्छु भने नेपालको वर्तमान संविधानले महिलाको प्रजनन् अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको छ । संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्यको नेपाल पनि एक देश हो । महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो सबैभन्दा बलियो कानुनी प्रावधान हो भन्ने मलाई लाग्दछ ।”

बिगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौँ महिलाको ज्यान जाने गरेको, उनीहरु कानुनी कारबाहीको भागिदार बन्नुपरेको र कैयौँ महिला जेल पर्ने गरेको प्रसङ्ग पनि उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो “एक समय त यस्तो पनि थियो कि जेलमा परेका एक सयजना महिलामध्ये आधाभन्दा बढी त भ्रुण हत्याको अभियोगमा थिए । तर पनि यसमा पुरुषहरुको दोष या अपराध भने कतै देखाइँदैनथ्यो । हामीले ती महिलाको पक्षमा वकालत गर्यौँ र उनीहरुलाई जेलमुक्त गरायौँ । अहिले त्यस्तो अवस्था छैन । महिलाहरुले सुरक्षित रुपमा गर्भपतन गराउने अधिकार पाएका छन् र सुरक्षित छन् ।”

महिलाहरुको यो अवस्थाका विरुद्धमा आफूँहरु विगत लामो समयदेखि सङ्घर्ष गरेको अनुभव पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो “नेपालका महिलाको अवस्था यस्तो भएपछि हामीले महिलाको प्रजनन् अधिकारका पक्षमा अभियान नै चलायौँ । संयोगबस मेरा श्रीमान शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्नुभयो र विशेषगरी यस विषयमा मेरो नेतृत्वमा नेपालका सबै पार्टीका महिलाले ‘लबिङ’ गरेका थियौँ । त्यसपछि सुरक्षित गर्भपतन र महिलाको प्रजनन् अधिकारसम्बन्धी कानुनी प्रावधान आयो ।”

वर्तमान संविधानमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वसम्बन्धी अधिकारको व्यवस्था राख्नका लागि आफूँहरुले गरेको सङ्घर्षको कथा सुनाउँदै मन्त्री डा राणाले भन्नुभयो “संविधान तयार पारिरहेको तत्कालीन संविधानसभाका छ सय एकमध्ये हामी दुई सय ७३ सदस्य त महिला नै थियौँ । हामीले तयार पारेको पहिलो मस्यौदा नै गायब पारिएछ । कुनै पुरुष सांसदले त्यो गायब पारेहोलान् भन्ने लाग्यो । पछि सबै पार्टीका महिला सांसद एक भयौँ र दबाब दिएर त्यसलाई पारित गराएरै छोड्यौँ ।”

उहाँले विकसित राष्ट्रहरुका तुलनामा नेपालको कूल ग्राहस्थ्य उत्पादन अत्यन्तै थोरै भए पनि मानव विकास सूचकाङ्कमा भने नेपालले प्रगति गरिरहेको प्रसङ्ग उल्लेख गर्दै महिलाको प्रजनन् अधिकार, सुरक्षित मातृत्व र अन्य धेरै यस्तै महिला अधिकारका कारण यो सम्भव भएको धारणा पनि राख्नुभयो ।