२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्दछन् ‘बजार नपाउला भन्ने छैन चिन्ता छैन’



अ+ अ-

वालिङ, (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो । पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच यहाँ उत्पादित सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताउनुभयो ।

“कम्पनीसँग यसवर्ष सम्झौता भएबमोजिम प्रतिकेजी रु ६५ का दरले हामीले बिक्री गर्‍यौँ”, उहाँले भन्नुभयो, “कम्पनीबाट दुई–तीन जना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।” कम्पनीसँग सम्झौता गरेर काम गर्दा अझै विश्वासिलो आधार भएकाले आफ्नोसहित अन्य छिमेकीहरुको पनि सुन्तला टिपेर पठाइएको उहाँले बताउनुभयो । किसान लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी रु ६५ का दरले बिक्री गरिसक्नुभएको छ ।

“दुई पक्षबीच भएको सम्झौताबमोजिम आफ्नोमात्रै अहिलेसम्म ६० क्विन्टल सुन्तला काठमाडौँ पठाइसकेको छु”, उहाँले भन्नुभयो, “अब तीन–चार क्विन्टल सुन्तला टिप्नै बाँकी छ त्यो पनि पठाउने तयारी भइरहेको छ ।” यस वर्ष बिक्री भएको सुन्तलाबाट रु तीन लाख ९० हजार आम्दानी भइसकेको र अब रु २५–३० हजारको सुन्तला बिक्री हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

गत वर्ष पनि सुन्तला बिक्रीबाट रु तीन लाख २५ हजार आम्दानी गर्नुभएका लामिछानेले यस वर्ष रु चार लाखभन्दा बढी आम्दानी गर्नुभएको हो । दश वर्ष पहिला व्यावसायिकरुपमा सुन्तलाखेती थाल्नुभएका लामिछानेको बगैँचामा हाल पाँच सय ५० बोट सुन्तला छन् । ती बोटमध्ये हाल तीन सय ५० बोटले फल दिन्छन् भने अरु बोट सानै छन् । विगत पाँच वर्षदेखि सुन्तला बिक्री गरी आम्दानी लिन थाल्नुभएको हो ।

“तेह्र रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ”, उहाँले भन्नुभयो, “सबै बोटले उत्पादन दिँदा आम्दानी झण्डै दोब्बरले वृद्धि हुन्छ ।” गत वर्ष पनि काठमाडौँकै एक कम्पनीसित सुन्तला खरिद बिक्रीको सम्झौता भएर बिक्री गरेको उहाँले बताउनुभयो । लामिछानेले जस्तै जिल्लाका अधिकांश व्यावसायिकरुपमा सुन्तला उत्पादन गर्ने कृषकले व्यापारीसित सम्झौता गरेर बजारीकरण गर्दै आएका छन् ।

स्वादका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठूला सहरका व्यापारी तथा कम्पनीले बगैँचाबाटै खरिद गर्ने गरेका छन् । व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरिदिने भएकाले पनि जिल्लामा उत्पादित सुन्तलाको बजारीकरणमा समस्या नभएको हो । रासस




भर्खरै