२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने



अ+ अ-

काठमाडौँ। व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने गरी सरकारले नयाँ प्रस्ताव गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको हवाई नीति २०७७ को मस्यौदामा व्यापारिक उडान गर्न नपाउने गरी कुनै संस्था वा व्यक्तिले निजी प्रयोगका लागि अनुमति प्रदान गर्न सक्ने उल्लेख गरिएको हो ।
नेपालमा अहिलेसम्म निजी प्रयोगका लागि विमान दर्ता गरेर उडान सञ्चालन गर्न अनुमति दिने व्यवस्था छैन । सरकारले पहिलोपटक यस्तो व्यवस्थाको प्रस्ताव गरेको हो । हालसम्म व्यावसायिक उडानका लागि मात्र विमान दर्ता गरेर सञ्चालन अनुमति दिएको अवस्थामा मस्यौदा अनुरूप नै नीति पारित भएमा निजी विमान खरिद गरेर उडान गर्न सक्नेलाई बाटो खुला हुनेछ ।
मस्यौदामा २०६३ सालमा जारी गरिएको विद्यमान नीतिभन्दा केही थप व्यवस्था पनि गरिएको छ । हवाई सुरक्षालाई ध्यानमा राख्दै यसका लागि दक्ष जनशक्तिसहितको छुट्टै हवाई सुरक्षा दस्ताको प्रस्ताव यसमा गरिएको छ ।

स्वदेशी तथा विदेशी लगानीमा हवाई उडान प्रशिक्षण संस्था (फ्लाइङ स्कुल) सञ्चालन गर्न चाहने संस्थालाई तोकिएको अवधिसम्म निःशुल्क विमानस्थल प्रयोग गर्न पाउने व्यवस्था मिलाइने मस्यौदामा उल्लेख छ । नेपालमा दर्ता भएका वायुयान विदेशमा बेचबिखन गर्न वा लिजमा दिन सकिने गरी स्वीकृति दिन सकिने विषय पनि यसमा समेटिएको छ । सञ्चालनमा नआएका विमानस्थललाई उड्डयन अथवा पर्यटकीय क्रियाकलापका लागि सार्वजनिक निजी लगानी (पीपीपी) प्रवद्र्धन गर्ने नीति सरकारले लिएको छ । त्यस्तै अनुसन्धानका लागि विमानको डिजाइन तथा निर्माणका लागि समेत व्यवस्था गरिने भएको छ । नीतिले वायुसेवा संस्थालाई पलायन हुन नदिन मर्जरलाई समेत प्रोत्साहन गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक वायुसेवा संस्थाले सञ्चालन प्रमाणपत्र पाएको एक वर्षभित्रमा कम्तीमा तीनवटा विमान ल्याएर सञ्चालन गर्नुपर्ने सीमा पनि मस्यौदामा तोकिएको छ । अन्तर्राष्ट्रिय उडान इजाजतका लागि कम्तीमा ५० करोड र आन्तरिकतर्फको इजाजतका लागि कम्तीमा २५ करोड रुपियाँ चुक्ता पुँजी निर्धारण गरिएको छ । हेलिकप्टरका लागि भने चुक्ता पुँजी १० करोड रुपियाँ तोकिएको छ ।

मस्यौदाले पहिलोपटक निजी क्षेत्रको लगानीमा आन्तरिक विमानस्थल, हेलिपोर्ट तथा हेलिप्याड निर्माण तथा सञ्चालनको व्यवस्थासमेत गरेको छ । त्यस्तै काठमाडौँ केन्द्रित उडानलाई पहिलोपटक अन्तरप्रदेश सञ्जालका रूपमा विकास गरी त्यसलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । आन्तरिकतर्फ नयाँ उडान कम्पनीलाई इजाजत दिँदा काठमाडौँबाहिर आधार बनाएर मात्र इजाजत प्रदान गरिने भएको छ । यसरी उडान गर्नेलाई निश्चित वर्षसम्म सहुलियत उपलब्ध गराउनेसमेत मस्यौदामा उल्लेख छ ।

दुर्गम विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई उडान सङ्ख्याका आधारमा हवाई इन्धन तथा अन्य शुल्कमा छुट दिने वा प्रतिव्यक्ति थप रकम अनुदान दिने व्यवस्था गरिने भएको छ । नागरिक उड्डयन क्षेत्रका दक्ष जनशक्तिलाई पलायन हुन नदिन सबै हवाई व्यवसायीको लगानीमा नेसनल एभिएसन एकेडेमीको स्थापना गरिने व्यवस्थासमेत मस्यौदामा राखिएको छ ।
हवाई कार्गो ढुवानी सेवामा निजी क्षेत्रलाई समेत सहभागी गराउन आवश्यक कानुनी र संस्थागत व्यवस्था गरिने भएको छ । रोजगारमूलक नागरिक उड्डयन क्षेत्रमा दुई अर्ब रुपियाँ लगानी गर्ने व्यक्ति वा संस्था र फ्लाइङ स्कुल सञ्चालन गर्नेलाई पहिलो पाँच वर्षमा आयकरमा छुट दिइने व्यवस्थासमेत मस्यौदामा उल्लेख छ । गोरखापत्र दैनिक