२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

नेपालमा लोकतन्त्र स्थापना, पार्टी सङ्गठन तथा पत्रकारिता क्षेत्रमा स्वर्गीय बस्नेतले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बस्नेत कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्वसदस्य, नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धासमेत हुनुहुन्थ्यो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी स्वर्गीय बस्नेत गणेशमान सिंहको नजिकमा रहेर लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

‘गणेशमान सिंह–मेरो कथाका पाना’ नामक पुस्तकका लेखकसमेत रहनुका उहाँ गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल र राससको पूर्वअध्यक्ष तथा पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो ।

प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्षका क्रममा राजकाज मुद्दामा आजीवन जेलको सजायका बाबजुद आफ्नो जीवनकालमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजका विभिन्न क्षेत्रमा बस्नेतले पुर्‍याउनुभएको योगदानको मूल्याङ्कन गर्दै कांग्रेसले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

उहाँको निधनबाट कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, पत्रकारिता क्षेत्रका अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको पार्टीका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बस्नेतको हृदयघातका कारण ७९ वर्षको उमेरमा आज बिहान काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रासस