२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छः नेता कोइराला



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बतानुभएको छ ।

लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता कोइरालाले भन्नुभयो, “सहमतिमा संविधान सशोधनसँगै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकामा नौ महिनासम्म आइपुग्दा त्यसको औचित्य पुष्टि गर्न सकिएको छैन । त्यसका लागि नेता र नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ, अनि मात्र जनताको सेवामार्फत देश बनाउन सकिन्छ ।

नेपाललाई विकास र समृद्धिमा लैजान हरित ऊर्जा, कृषि र प्रविधिको विकास तथा विस्तारसँगै भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन तथा दण्डहीनता अन्त्य गरिनुपर्ने भन्दै उहाँले कानुन कार्यान्वयन संयन्त्रमा हाम्रा नभई राम्रा व्यक्ति छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्काे एक प्रसङ्गमा नेता कोइरालाले नेपालगञ्जमा जननेता बिपी कोइरालाको शालिकमा हिजो कालोमोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, उहाँलाई नेपाली कांग्रेसले मात्र नभई सबै नेपालीले राजनेता मानेका छन् । त्यो घटनाले पक्कै पनि हामीहरूको मनमा केही असर गर्छ, त्यो स्वभाविक हो तर त्यस्ता घटनाबाट प्रजातन्त्रमा विश्वास गर्ने कोही विचलित हुनहुन्न ।”

पुस्तकका श्रष्टा डा कर्माचार्यले राजनीति ठूलो दर्शन भए पनि नेपालमा हाल भइरहेका अभ्यास, राज्यबाट नागरिकका लागि प्रवाह भइरहेका स्वास्थ्यलगायत अत्यावश्यक सेवासुविधा र तिनको प्रप्तिमा रहेको झण्झटिला प्रक्रियाले आफूलाई पुस्तक लेख्न खुराक प्रदान गरेको बताउनुभयो । “नेपालको राजनीति मात्र होइन, सामाजिक र स्वास्थ्य सेवामा समेत सुधारको खाँचो छ । राजनीति आफैँमा समाजसेवाको दर्शन हो तर अभ्यासमा त्यस्तो देखिँदैन । पुस्तक अध्ययनपछि भने खुसी समाज, समृद्ध परिवार, असल नागरिक र शान्त नेपाल निर्माणको यात्रामा सबै नागरिक जुट्न प्रेरणा प्राप्त हुनेछ”, उहाँले भन्नुभयो ।

पुस्तकको समीक्षा गर्दै समालोचक प्रमोद प्रधानले कात्रोमा खल्ती हुन्न भन्ने पुर्खाको बुझाइ रहेकामा पुस्तकको शीर्षक र समेटिएका विषयवस्तुले समसामयिक राजनीति, आर्थिक चलखेल, समाजमा विद्यमान विकृति र विसङ्गतिको पर्दाफास गरेको धारणा राख्नुभयो ।

त्यसअवसरमा साहित्यकारद्वय विमल भौकाजी र भागीरथी श्रेष्ठले चिकित्सा क्षेत्रमा रहेर पनि समाज सेवा र लेखन विधाका माध्यमबाट डा कर्माचार्यले समाज रूपान्तरणमा खेल्नुभएको भूमिका अरुका लागि प्रेरणादायी बन्न सक्ने धारणा राख्नुुभयो ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले मुलुकमा दुई दशकयताको राजनीतिक अभ्यास, विकास, इतिहास, युवा र रोजगारी, शिक्षा, स्वास्थ्य सेवालगायत समसामयिक विषयमा केन्द्रित रही लेख, निबन्ध र विचार तथा ‘कात्रोमा खल्ती’ नामक आख्यान कृतिमा समेटिएको बताउनुभयो ।

सहभागी अन्य वक्ताहरूले पुस्तकले नेपालको वर्तमान राजनीति र समाजको चित्रण गर्नाका साथै राजनीतिज्ञले कसरी काम गर्छन्, समाजमा सुशासनको अवस्था कस्तो छ, सरकारी निकाय, सङ्घसंस्था, अस्पताल र समाज कसरी चलेका छन् भनेर छर्लङ्ग देखाएको बताउनुभयो । कात्रोमा खल्ती नभए पनि अहिलेको परिवेशमा समाजका सबै ठाउँमा खल्ती छ भन्ने देखिरहेको उहाँहरूको भनाइ थियो ।

लेखकले पुस्तकमा नेपाली समाजको हालको परिस्थितिलाई चिर्दै देशलाई समृद्ध, सुखी र शान्त बनाउन चाल्नुपर्ने कदम र गर्नुपर्ने मेहनतको पक्षमा समेत सुझाव प्रस्तुत गर्नुभएको छ । रासस