२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने



फाइल फोटो
अ+ अ-

काठमाडौं । संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले जुलुससहित सभा गर्न लागेको हो । राप्रपालले बाहिरी जिल्लाबाट मानिसहरु सहभागी हुने दाबी गरेको छ ।

राप्रपाले प्रदर्शन गर्न लागेपछि सरकार भने झस्किएको छ । उसले सभा तथा जुलुलाई लक्षित गर्दै सुरक्षा निकायको उपस्थित बनाउने भएको छ । राप्रपाको सभामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।

राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । त्यही अनुसार सरकारले सुरक्षा रणनीति बनाएर परिचालन गर्न लागेको हो ।

जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । ती मध्ये कतिपय सादा पोशाकका सुरक्षाकर्मी हुने छन् । त्यसैगरी सशस्त्र प्रहरीले पनि आवश्यकताअनुसार आफ्ना कर्मचारी खटाउने तयारी गरेको छ ।

चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसामा परिणत भएपछि सरकारले आज विशेष सतर्कता अपनाएको छ । राप्रपाले गर्ने जुलुस र सभाको सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट निगरानी गरिने भएको छ । उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

राजावादीका तर्फबाट चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ ।

तीनकुने घटनाबाट प्रहरी झस्किएकाले नयाँ सुरक्षा रणनीति बनाइएको हो । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ ।

सभाअघि साढे ११ बजेदेखि उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्कने छ । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राप्रपाले ठूलो संख्यामा स्वयम्सेवक परिचालन गर्ने जनाएको छ । राप्रपाको प्रदर्शनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत आजको प्रदर्शनलाई समर्थन गरेका छन् ।