२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिभावकहरुसँग क्षमा माग्दै भर्ना अभियान सुरु गर्न शिक्षाविद् कोइरालाको सुझाव



अ+ अ-

काठमाडौं । शिक्षाविद प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षक महासंघको आन्दोलन अप्ठ्यारो मोडमा पुगेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब महासंघले अभिभावकहरुसँग क्षमा माग्दै केही जनशक्ति विद्यालय फर्किएर भर्ना अभियान सुरु गर्न ढिला भइसकेको उनले बताए । विद्यार्थी भर्ना कार्यक्रम रोक्नु घातक हुने उनको चेतावनी छ । अब पनि भर्ना अभियान सुरु नगरेको खण्डमा अभिभावकहरुले सरकारी विद्यालयमा पढाइ नहुने रहेछ भन्दै निजी विद्यालयमा विद्यार्थी भर्ना गर्ने खतरा बढ्दै गएको उनको भनाइ छ ।

‘शिक्षक महासंघले अहिले जुन ढङ्गले आन्दोलन गरिरहेको छ, यो आन्दोलनलाई केही अप्ठ्याराहरु आए अब । शिक्षक कार्यक्षेत्रमा छैनन्, विद्यार्थी भर्ना के गर्ने हो ? जाँच समयमा नहुने भयो । अब त सरकारी स्कुलमा पठाइ नहुने भयो, अब बडो अप्ठ्यारो हुनेभयो भन्ने सन्देश जाने भयो । यहाँहरु (शिक्षक महासंघ) ले अभिभावकसँग क्षमा माग्नुस् । अभिभावकलाई भन्नुस् कि हाम्रा केही साथीहरु विद्यालयमा गएर भर्ना अभियान गरिरहेका छन् । एउटा बाटो त्यो हुनसक्छ । विद्यालय भर्नालाई नरोकौं,’– उनले भने ।

साथै, मन्त्रिपरिषद्मा पनि शिक्षकहरुको मागबारे छलफल हुने तयारी रहेको बताउँदै उनले सरकारले निर्णय गरेर हुने कुराहरु तत्काल गरेर ऐन जारी हुने मिति सुनिश्चित गरी शिक्षकहरुलाई कार्यक्षेत्रमा पठाउने वातावरण मिलाउन उनले सरकारसँग आग्रह गरे । ‘आजै सात वटा बुँदामा शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा संवाद गर्दैछ । त्यो बाटोबाट जाने अर्को बाटो भयो । सात वटा बुँदामा सहमति जनाउने, कति त ऐनसँग सम्बद्ध छैनन्, सुविधासम्बन्धि छन् । ऐनसँग संवद्धलाई के गर्ने भने ऐन हामी फलानो मितिमा ल्याउँछौं भन्नसक्नु् पर्यो । गैरविधेयकका सहमति यसरी कार्यान्वयन गर्छौं र विधेयक यो मितिमा पारित हुन्छ भनियो भने सहमति हुनसक्छ,’– उनले भने ।

शिक्षकहरुको माग पूरा गर्न बजेटले धान्दैन भने सरकारले उनीहरुलाई वैकल्पिक उपायहरु दिन सक्नुपर्ने शिक्षाविद् कोइरालाको भनाइ छ । शिक्षकहरुको माग सम्बोधन गर्दा झण्डै चार खर्ब राज्यलाई आवश्यक पर्ने आकँलन रहेको बताउँदै उनले त्यो नसकिने अवस्थामा शिक्षकहरुलाई अरु सुविधाहरु, छोराछोरीले उच्च शिक्षा निशुल्क पढ्न पाउने, बैंक, उद्योग, व्यापारमा शेयर पाउने, प्रतिमहिना आफ्नै तलबबाट कट्टी हुनेगरी घर, गाडीलगायतका सुविधाहरु दिनेलगायतका विकल्पमा जानुपर्ने बताए ।

शिक्षाविद् कोइरालाले कक्षा १२ को परीक्षा सार्दा विद्यार्थीहरुमा नराम्रो सन्देश जानसक्ने बताए । अहिले यहाँ केही छैन भन्ने किसिमको भाष्य सिर्जना गरेर बर्वाद नै भइसकेको अवस्थामा प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने व्यवस्था भएकोमा सरकारले निर्णय गरेर अर्को व्यवस्था गरी परीक्षा सञ्चालन गर्दा उपयुक्त हुने उनले बताए । साथै, शैक्षिक गुणस्तरको सम्बन्धमा शिक्षकहरुलाई जिम्मेवार बनाइनुपर्ने उनले बताए ।

‘अब शिक्षकहरुले गुणस्तरको जिम्मा लिनुपर्छ भन्नुपर्ने भयो अब । गुणस्तर भनेको के हो भन्ने कुरा संघीय सरकारले भन्दिनुपर्छ । त्यो गरेन भने अहिले विद्यार्थी, अभिभावकलाई दोष लगाएर शिक्षकहरु मुक्त भएका छन् । अनेक दोष लगाउने चलन छ, अब कसैलाई दोष लगाउने होइन, हामीले जिम्मेवारी लिनुपर्छ भन्ने किसिमको चिन्तन उहाँहरुले बनाउनुपर्छ,’– उनले भने ।

साथै, पालिकाहरुले अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चितता गर्नेगरी अगाडि बढ्नुपर्ने उनले बताए । शिक्षाविद् कोइरालाले निःशुल्क शिक्षा गर्न सकिने बताए । सक्नेले तिर्ने, नसक्नेले नतिर्ने गरी निःशुल्क शिक्षाको अवधारणा कार्यान्वयन गर्न सकिने बताए ।