२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी



अ+ अ-

म्याग्दी । सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी भएको हो । कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्न लागिएको जानकारी दिनुभयो ।

“एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ”, उहाँले भन्नुभयो, “थप दुई सय मिटर ढलान र तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।” नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले आधुनिक प्रविधिको कालोपत्र र ढलान गरिने भएको छ ।

विसं ०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । यसअघि एक घण्टाको यात्राअवधी हाल २० मिनेटमा छोटिएको छ ।

उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट बिनियोजन नभए पनि थप भएको समयअघिनै योजना सम्पन्न गर्न लागिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि थप बजेट व्यवस्थापन गर्न सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो । अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट भएको थियो ।

सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ । रासस