२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई



अ+ अ-

काठमाडौं। यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित छ ।

चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ ।

दयाहाङ भन्छन्, “नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो । तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो ।”

उनका अनुसार ‘महाभोज’ केवल कथानक होइन, त्यो एक प्रश्न हो – यस्तो किन भइरहेको छ ? कसको महत्त्वाकाङ्क्षाले यस्तो हुन्छ ? यी सबै प्रश्नहरूको उत्तर चलचित्रले खोजेको छ ।

दयाहाङले चलचित्रले विशिष्ट प्रतिशत जनतालाई मात्र नभई संसारभर रहेका नेपालीहरूलाई छुने विश्वास व्यक्त गरे । “मैले यति प्रतिशत भन्दिन तर ‘महाभोज’ले हरेक नेपालीलाई छोइहाल्छ । यो आम जनताको कथा हो,” उनले बताए ।

चलचित्र ‘महाभोज’ को कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग सङ्घर्ष, पारिवारिक, सामाजिक तथा नैतिक सङ्कटको वरिपरि घुम्छ । चलचित्रले आर्थिक शोषणमाथिको सवाल मात्र होइन, नेपाली समाजमा पैसाको शक्ति र त्यसले जन्माउने विभाजनलाई समेत प्रश्न गर्छ ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् भने हिमाल कडरिया निर्माता हुन् । कथा तथा पटकथा सुवेदीले लेखेका छन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा बनेको ‘महाभोज’ एकै दिन नेपालसहित विदेशका विभिन्न देशमा प्रदर्शनमा आउने तयारीमा छ ।

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ ।

‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ । रासस