२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो प्रभावित क्षेत्रमा ४ दिनसम्म पनि पुगेन राहत



अ+ अ-

म्याग्दी । बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्याउन नसकिएको हो । दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ । सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ सरकारले खासै पहल नगरे पनि स्थानीय व्यवसायीले हेलिकप्टर उपलब्ध गराएकाले मात्र यसअघि राहत पुर्याउन सकिएको हो ।

पहिरोले क्षति पुर्‍याएका धौलागिरिको मराङ, कल्लेनी, राम्चे, रिखार तथा मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न सकिने अवस्था छैन । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरि–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १५० भन्दा बढी परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ । पहिरोले धौलागिरिमा २० र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । चार जना अझै बेपत्ता छन् ।

पहिरोले घरबारविहीन भएका र उच्च जोखिमका क्षेत्रमा रहेकालाई ताकमको हेम मावि, मराङको राम्चे सामुदायिक भवन र बिमको जनविकास आधारभूत विद्यालयमा राखिएको छ । परिवारका सदस्य गुमाएकाहरु त्यहीँ सामाजिक संस्कारअनुसार काजकिरियामा बसेका छन् । केही स्थानीय दिनभर किरियापुत्रीको साथमा रहने त केही खेतबारीमा काम गर्ने, वस्तुभाउको स्याहार गर्ने र साँझ बास बस्न आउने गरेका छन् । पहिरोमा सर्वस्व गुमाएकाहरु मानसिक रूपमा समेत विक्षिप्त बनेका स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनले बताए । ‘दिनभर टोलाएर बस्छन्,’ पुनले भने । जिल्ला विपद् व्यवस्थापन समितिको टोली खोज उद्धार सकिएको र पीडित पुनर्बासको दायित्व स्थानीय सरकारको भएको भन्दै प्रभावित क्षेत्रबाट फर्किएको छ । स्थानीयलाई गाँसबासकै समस्याले विचल्लीमा परेका छन् । घटनाको चौथो दिनसम्म घर, पशुचौपायालगायत भौतिक क्षतिको लगत संकलन हुन सकेको छैन । बाटाघाटो, खानेपानी आयोजना र वडा कार्यालयमा समेत क्षति पुगेका छन् । आपतकालीन सेल्टरमा राखिएका विस्थापित र स्थानीयले वर्षेमूलको पानीले काम चलाएका छन् ।

उता, संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका ७९ परिवारका ३ सय ४९ जना डेढ घण्टा टाढा शेर्पा गाउँको गुम्बा र केही स्थानीयका घरमा बसेका छन् । उनीहरूका लागि प्रदेश १ सरकारका तर्फबाट राहत सामग्री लिएर इटहरीस्थित सेनाको पूर्वी पृतनाबाट हेलिकप्टर जाने खबर स्थानीय प्रशासनलाई थियो । त्यसैले स्थानीय प्रशासनले राहत पठाउने विकल्प सोचेन । ‘मौसम खराब भएकाले हेली आएन, खानलाई चामल छैन । भएको आलु र मकै हो,’ सिलिचोङ–१ का वडाध्यक्ष अलक्षकुमार राईले भने, ‘राहत ल्याउन मोटरबाटो छैन । वर्षाको बेला छ, मौसम खुल्दैन, कुहिरो लागिरहन्छ ।’ पहिरोपीडितहरू हतारहतार भाग्दा धेरैले लगाउने लुगा पनि बोक्न नपाएको उनले बताए । ‘राहत सजिलै आइपुग्ला भन्ने आस छैन, भोकमरी लाग्ने अवस्था छ,’ उनले भने ।

बेसिन्दाका पहिरोपीडितलाई राखिएको चित्रे भन्ने ठाउँ पुग्न सदरमुकाम खाँदबारीबाट कस्सिएर हिँड्दा एक दिन पूरै लाग्छ । मोटरबाटो पुगेको छैन । पहिरोको खबर आएपछि सदरमुकामबाट आइतबार हिँडेको सेना, सशस्त्र र प्रहरीको थप उद्धार बल सोमबार दिउँसो ४ बजे मात्र घटनास्थल पुगेको छ । बाढीपहिरोमा परी जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र संखुवासभामा गरी करिब १७ सय घरपरिवार विस्थापित छन् । जाजरकोटमा प्रदेश सरकारले राहत पुर्‍याउन तदारुकता देखाए पनि अरू जिल्लामा स्थानीय तहकै भरमा उद्धार र राहतका काम भइरहेका छन् । तिनका लागि तत्कालीन राहतको प्रबन्ध स्थानीय तहले गरे पनि प्रदेश र संघीय सरकारको राहत कहिले आउँछ भन्ने आसमा जनप्रतिनिधि छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिन भन्छिन्, ‘हामीकहाँ १ सय २० घर विस्थापित छन् । तत्कालको राहत त बाँड्दै छौं, तर स्थानीय तहको बलले मात्रै उनीहरूलाई पुनस्स्थापित गराउन सकिने अवस्था छैन ।’ सिन्धुपाल्चोकका दुई स्थानीय तहमा गरी बाढीपहिरो प्रभावित परिवारको संख्या चार सय हाराहारी छ । ‘बाटो बिग्रिएको छ, जताततै पहिरोको डर छ,’ पाख्रिनले भनिन्, ‘हामीलाई प्रदेश र संघ सरकारको सपोर्ट नहुने हो भने राहत र उद्धारको काम स्थानीय तहको बलले मात्रै गर्न सकिँदैन ।’ तत्कालका लागि खानेकुराको प्रबन्ध स्थानीय तहले मिलाएको भए पनि सहज बसोबास र दीर्घकालीन राहतका लागि के गर्ने भन्ने छलफल हुनै बाँकी रहेको उनले बताइन् ।

जाजरकोटको बारेकोटमा बिहीबार र शुक्रबार बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भयो । चार जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोको जोखिममा परेका करिब ३ सय परिवार आफ्नो थातथलोबाट विस्थापित छन् । उनीहरूलाई विद्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । कतिपय परिवारले आफन्तकहाँ शरण लिएका छन् । ‘प्रारम्भिक रूपमा केही खाद्यान्न र टेन्टहरू वितरण गरिएको छ,’ उनले भने । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार भएको बैठकले रेडक्रसमार्फत राहत सामग्री पुर्‍याउने निर्णय गरेको छ ।

आइतबार नेपाली सेनाको हेलिकप्टरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चामल, च्युरासहित स्वास्थ्य सामग्री लिएर घटनास्थल पुगेका थिए । कर्णाली प्रदेश सरकारले आइतबार र शनिबार हेलिकप्टरबाट खाद्य सामग्री र त्रिपाल पठाएको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले शनिबार नेपाली सेनाको सानो हेलिकप्टरमा च्युरा, चाउचाउ र टेन्टहरू पठाइएको बताए । कान्तिपुर दैनिक