२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण



अ+ अ-

बन्दीपुर, (तनहँ) ।  ‘पहाडकी रानी’का रूपमा परिचित छ यहाँको बन्दीपुर । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय नगरी बन्दीपुरको विविधता र समृद्धिको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखापत्र संस्थानको प्रतिष्ठित साहित्यिक मासिक पत्रिका मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण गरिएको छ ।

आइतबार यहाँ आयेजित एक विशेष समारोहकाबीच गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, मधुपर्कका सम्पादक त्रिभुवन वाग्ले, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, बन्दीपुर भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङ, समाजसेवी नमस्ते लालभूमि र शिवलाल प्रधानले संयुक्त रूपमा विशेषाङ्कको लोकार्पण गर्नुभयो ।

यही २०८२ सालको जेठ महिनाको यो विशेषाङ्कमा बन्दीपुरको इतिहास, संस्कृति, प्रकृति, पर्यटकीय सम्भावना, पुराना भवन तथा सम्पदा, जात्रा–पर्व, मौलिक जीवन शैली र स्थानीय पहिचानसँग जोडिएका साहित्यिक रचना, संस्मरण र तस्बीर समावेश गरिएको छ ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “बन्दीपुर विशेषाङ्क साँच्चिकै अर्थपूर्ण अङ्क हो । यसमा बन्दीपुरसँग सम्बन्धित थुप्रै महत्त्वपूर्ण सामग्री समेटिएका छन् । यो अङ्क पढ्ने जोकोहीले बन्दीपुरको विविधता र समृद्धि बुझ्न सक्नेछन् ।” उहाँका अनुसार गतवर्ष फागुन महिनामा मधुपर्कले नेपालका ४० जना स्रष्टालाई बन्दीपुरमा लगेर ‘राष्ट्रिय सिर्जना सम्मेलन’ आयोजना गरेको थियो । सम्मेलनमा सहभागी भएका रचनाकारका साथै अन्य स्रष्टाका रचनासमेत यस अङ्कमा प्रकाशित छन् ।

मधुपर्कका सम्पादक त्रिभुवन वाग्लेले यो अङ्क तयार गर्न निकै मेहनत गरिएको बताउँदै भन्नुभयो, “सामान्यतया ८० पृष्ठ हुने मधुपर्क यो पटक ११२ पृष्ठको बनेको छ । समावेश गरिएका रचना खँदिला छन्, र यसरी साहित्य र पर्यटनको संयोजनमार्फत गोरखापत्र संस्थानले एउटा उत्कृष्ट प्रयास गरेको छ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले मधुपर्कमार्फत बन्दीपुरको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारका तर्फबाट हामी यस्ता कार्यलाई सधैँ स्वागत गछौँै । साहित्यिक रूपमै हाम्रो ठाउँको पहिचान बनेर जानु गौरवको कुरा हो ।”

बन्दीपुर प्राचीन पुरातात्विक सम्पदाले भरिपूर्ण गन्तव्य हो । यहाँको टँुडिखेल, सहिदपार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र बिन्दबासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा पिकनिक स्पट, गुम्बा, रामकोट, कोरीखा, धरमपानीहोमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउउत्पादन केन्द्र प्रमुख आकर्षण हुन् ।

नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक भेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन् । हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन् ।

डुम्रे बजारबाट करिब ८ किमीको यात्रा गरेपछि पुगिने बन्दीपुर बजार हाल केवलकारबाट पनि पुग्न सकिन्छ । ठुलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा ल्याइएको केवलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पुर्‍याउने हुँदा आवागमन थप सहज भएको छ । रासस