२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका



अ+ अ-

भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताउनुभयो । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् ।

“पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ”, उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ ।” चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताउनुभयो । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । “यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ”, उहाँले भन्नुभयो, “शिक्षकहरु पनि आवासीय रुपमै बसिरहनुभएको छ ।”

राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिनुभयो । यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताउनुभयो ।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताउनुभयो । उहाँले पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताउनुभयो ।

यहाँ पुग्न अझै पनि दुई/तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दछन । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताउनुभयो ।

यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने गरेको थियो । विसं २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले । स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो । त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रअ थपलियाले बताउनुभयो । “अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, विभिन्न सङ्घसंस्थाले सहयोग नगरेमा यहाँका बालबालिका पढ्नबाट वञ्चित हुनेछन्”, उहाँले भन्नुभयो ।

विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताउनुभयो । उहाँका अनुसार निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्छ । अहिले सातजना शिक्षकको दरबन्दी रहेको उहाँले बताउनुभयो । विद्यालयमा शौचालय, पुस्तकालयको अभाव रहेको भन्दै उहाँले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पचास जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन । विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकता समेत बढेको उहाँले बताउनुभयो । रासस