२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रियाल रिङ्गेट’को मार्मिक टिजर सार्वजनिक: सपना, सङ्घर्ष र बिछोडको यथार्थ पर्दामा



अ+ अ-

काठमाडौं। वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ ।

साउन १६ गते रिलिज हुने यस चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले आइतबार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरेको हो ।

टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवाहरू कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता-कस्ता चुनौतीहरू सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।

प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत मनसाय बोकेका व्यक्तिहरूको फन्दामा परेका युवाहरूको मार्मिक दृश्यहरू देखाएको छ । यसले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोहरूलाई उजागर गरेको छ ।

विभोर पोखरेलको निर्देशनमा बनेको यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

चलचित्रको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ, जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ । यसअघि सार्वजनिक भएको पोस्टरको ट्यागलाइन “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो” ले चलचित्रको समग्र मर्मलाई एकै वाक्यमा समेटेको छ ।

कवि नाथन रायनले लेखेका यी शब्दहरूले वैदेशिक रोजगारीका सपनाभित्र लुकेको दुःख, शोषण, परायापन र कहिलेकाहीँ मृत्युजस्ता कठोर यथार्थलाई चित्रण गर्छ ।

चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ ।

गीतका शब्दहरू अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।