२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजले सामाजिक समरसता कायम गर्छ : उपराष्ट्रपति



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना व्यक्त गर्दै उहाँले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “प्रकृतिको हरियालीले सिँगारिएको मौसममा मनाइने यो पर्व उत्सव, उमङ्ग, उल्लास र आत्मीय मिलनको सन्देश बोकेर आउँछ, नेपाली समाजको बहुरङ्गी संस्कृति र विविध परम्पराबीच मनाइने यो पर्वले हामीलाई एकता, सहिष्णुता र आपसी सद्भावको मार्गमा अग्रसर हुन सघाउँदछ ।”

पारिवारिक समर्पणको प्रतीक यो पर्वमा विवाहित महिलाहरूले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने कुमारी कन्याहरूले भगवान् शिवजस्तो योग्य वरको कामना गर्दै मनाउने चलन र धार्मिक मान्यता रहिआएको छ ।

सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने र टाढा पुगेका छोरीचेलीहरुलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक/पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उहाँको भनाइ छ । उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालमा बसोबास गर्ने विभिन्न जाति, समुदायलेसमेत धुमधामका साथ मनाउने यो पर्वले सांस्कृतिक विविधता बोकेको छ, यो पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र एकतालाई बलियो बनाउन सहयोग पुग्दछ ।”

महिलाहरूले परम्परागत गीत गाउँदै मनोरञ्जन गर्ने, दु:खसुखका भावना व्यक्त गर्ने माध्यमका रूपमा तीजलाई उपयोग गर्ने हाम्रो रैथाने प्रचलन हो । तीजको अघिल्लो दिन मीठा परिकार बनाई आफन्तसँग रमाइलो गर्दै ‘दर’ खाने चलनले सामाजिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्छ । उपराष्ट्रपति यादवले सबैले तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै मर्यादित र मौलिक ढङ्गले मनाउनुपर्ने आवश्यक औँल्याउनु भएको छ ।

चौरचन (चकचना) पर्व र गणेश चौची शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले हाम्रा मौलिक संस्कृति, धार्मिक चेतना र सामाजिक एकता सुदृढ पार्ने माध्यम भएको बताउनुभएको छ । चौरचन (चकचना) पर्व र गणेश चौची, २०८२ को पावन अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालमा मनाइने विभिन्न पर्वले धार्मिक र सांस्कृतिक अनुष्ठानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने धारणा राख्नुभयो ।

तराई–मधेसका केही जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरुले मनाउने चौरचन (चकचना) पर्वमा धार्मिक विधिविधानअनुसार चन्द्र देवको पूजा उपासना गर्ने परम्परा छ । मधेसको सांस्कृतिक पहिचान बोकेको यो पर्वमा पुरी, खीर, दही, मौसमअनुसारका फलफूललगायतका मौलिक प्रसाद चन्द्रदेवलाई अर्पणपछि सम्पूर्ण परिवार सामूहिक रुपमा प्रसाद ग्रहण गर्ने चलन छ ।

प्रसादका रुपमा तयार पारिने भौलिक परिकारहरुले खानपान संरकृतिको विविधतालाई झल्काउँदछ । यो पर्व मनाउँदा मानसिक शान्ति, चन्द्र दीपको निवारण तथा पारिवारिक समृद्धि हुने जनविश्वास रहिआएको छ । यो पर्वले स्थानीय परम्परा र सामूहिक आस्थालाई बलियो बनाउन पनि सघाउँदछ ।

गणेश चौथी (गणेश चतुर्थी) को नामलेसमेत लोकप्रिय यी नोकपर्वमा भगवान् गणेशको आराधना गरिन्छ । जसले विघ्नहरण गरी जीवनमा शुभलाभ ल्याउने विश्वास गरिन्छ । यो पर्वमा भक्तजनले विघ्न नाश, कार्यसिद्धि र मानसिक शान्तिको कामना गर्दै गणेशको पूजा गर्छन् । गणेश चौथी केबल एक धार्मिक अनुष्ठान होइन, यो हाम्रो सामाजिक आत्मा, सांस्कृतिक पहिचान र सामूहिक चेतनाको उत्सव पनि हो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “यो पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्व र प्रेमभाव अभिवृद्धि गर्न सघाउँदछ, विविधतायुक्त सांस्कृतिक भएको नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् ।”

उहाँले चाडपर्वका माध्यमबाट मत्तोमालिन्यता हटाउने, समभाव बढाउने र सद्भाव कायम गर्ने वातावरण सिर्जना हुने विश्वास पनि गर्नुभएको छ ।  “आधुनिक जीवनशैलीमा व्यस्त मानिसलाई धार्मिक ध्यान र आत्मचिन्तनको अवसर प्रदान गर्दछ, यी चाडपर्वले हामीबीच विद्यमान सबै प्रकारका आपसी मनोमालिन्यता हटाई प्रेम, समता र सहिष्णुताको भावना जागृत गर्न उत्प्रेरित गरून् भन्ने कामना गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि पुन:हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।