२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद



अ+ अ-

राँझा, (बाँके) । नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ ।

थारू महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगञ्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ । प्रत्येक दिन बिहानीपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा थारू महिलाहरूको एउटा मिनीबजार नै लाग्ने गर्छ ।

विषादीरहित र ताजा तरकारीको खोजीमा रहेका उपभोक्ताको यहाँ लर्को लाग्ने गर्दछ । नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी सुनीलसिंह हमाल विगत तीन वर्षदेखि आफ्नो भान्सामा यही गाउँको अर्ग्यानिक तरकारी पाक्ने गरेको अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसार यो कार्य आर्थिक कारोबारमात्र नभइ थारू महिलाको सेवाभाव पनि हो ।

मौसमअनुसार महिलाहरूले बिक्री गर्ने तरकारीमा बोडी, फर्सी, लौका, घिरौला, तीतेकरेलो, तोरी र भाजीको साग, काँक्रालगायत उपज प्रमुख छन् । यसबाहेक उनीहरूले अरहर र मसुराको दाल पनि बिक्री गर्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका थारू महिलाका लागि यो कृषि पेसा केवल जीविकोपार्जनको साधनमात्र नभई स्वावलम्बनको आधार बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारू परिवारको जीविकोपार्जन तरकारी बिक्रीबाटै चलेको छ । तरकारीको माग बढेपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफैँले उत्पादन गरेर बजारमा पुर्याउन थालेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका–३ की महिला वडासदस्य दुसानी थारू त जनप्रतिनिधि भएर पनि दैनिक बर्दियाबाट नेपालगञ्ज अग्र्यानिक तरकारी ल्याएर बिक्री गर्नुहुन्छ । उहाँ विगत १० वर्षदेखि कृषि पेसामा संलग्न हुनुहुन्छ । उहाँको भनाइमा पहिले साइकलमा राखेर चोकचोकमा पुर्याउनुपर्ने तरकारी अहिले धम्बोझीमा सहजै बिक्री हुन्छ । विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्न उहाँ सफल हुनुभएको छ ।

बर्दिया राजापुरकी श्यामकली थारू तरकारी बेचेर घरखर्च जुटाउन सहज भएको बताउनुहुन्छ । गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि यो पेसातर्फ अधिकांश थारू महिला आकर्षित भइरहेका छन् ।

नेपालगञ्जको धम्बोझी क्षेत्रमा तरकारी बिक्री गर्ने थारू महिलाले भारतीय बजार रूपैडिहाको तरकारी बिक्रेताले पनि सँगै राखेर बिक्री गर्दा आफूहरूलाई समस्या भएको गुनासो गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले थारू महिलाहरूको यो मिहिनेत र अर्ग्यानिक तरकारी उपलब्ध गराउने कार्य सराहनीय रहेको बताउनुभयो । उहाँले उनीहरूले उत्पादन गरेको तरकारी व्यवस्थित रूपमा बिक्री वितरणको व्यवस्था गराउन उपमहानगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।

बाँके र बर्दियाका थारू महिलाहरूले आफ्नो पौरखबाट सहरलाई स्वस्थ तरकारीको उपलब्धतामात्र गराएका छैनन्, बरु स्थानीय उत्पादन, महिला नेतृत्व र दिगो कृषि प्रणालीको महत्वलाई पनि उजागर गरेका छन् । उनीहरूको यो अभियानले नेपालगञ्जको बजारमा गाउँको स्वाद र पौरखलाई पुन:स्थापित गरिरहेको प्रवक्ता रिजालको भनाइ छ । रासस




भर्खरै