२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे



अ+ अ-

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको फैसला चाँडै कार्यान्वयन गरिने बताउनुभएको छ ।

पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उहाँले फेवातालको ६५ मिटरभित्रका अस्थायी÷स्थायी संरचना हटाउन अदालतले दिएको आदेशअनुसार अतिक्रमित संरचना हटाएर खाली गर्ने र सो क्षेत्रमा हरियाली बनाइने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पोखराको फेवातालको क्षेत्र निर्धारण गरिएको छ, तालको टेरिटोरीमा पिल्लर गाडिएको छ । यसपछि अतिक्रमित अवस्थालाई क्रमिक रूपमा खाली गर्नुपर्ने र हरियाली गर्नुपर्नेछ, हामी गर्छौं । तालको सिमादेखि ६५ मिटर खाली गर्नुपर्ने सर्वोच्चको आदेश कार्यान्वयन हुन्छ ।”

उहाँले अतिक्रमित क्षेत्रमा परेका सरकारी संरचना पहिलो चरणमा हटाइने र  फेवातालको वरिपरि हेर्न लायक हरियाली बनाउनेसमेत उल्लेख गर्नुभयो । पोखरालाई ब्राडिङ गर्नुपर्छ भनेर प्रदेश सरकार र पोखरा महानगरको संयुक्त पहलमा पोखरालाई पर्यटकीय राजधानी घोषण गरेको हो ।

पोखराको राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा ‘ब्राण्डिङ’ गर्नका लागि प्रदेश सरकार र महानगरको सहकार्य र योजनामा पर्यटन राजधानी घोषणा गरिएको बताउँदै उहाँले घोषणापछि गर्नुपर्ने कामसमेत सहकार्यमा गरिने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था, मर्म र भावनाअनुसार प्रदेश सरकार र पोखरा महानगरबीच समन्वय र सहकार्य हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले  पोखरालाई प्रदूषणमुक्त सहर बनाउने उद्देश्यले एशियाली विकास बैंकसँगको सहकार्यमा प्रदूषणमुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

महानगर प्रमुख धनराज आर्यालले पोखराको दिगो एवं दीर्घकालीन लक्ष्यका साथ पोखराको शिक्षा, स्वास्थ, कृषि, पर्यटन, पूर्वाधारलगायत समग्र क्षेत्रको विकासमा निरन्तर क्रियाशील हुँदै आएको बताउनुभयो । उहाँले विदेशी दातृ निकाय र विकास साझेदारसँगको सहकार्यमा हाल पोखरामा रु ३३ अर्बको योजना कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

“विकास साझेदारसँगको सहकार्यमा पोखराको विकासका लागि काम गरिरहेका छौँ । हाम्रो नेतृत्वमा पोखराको दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, महानगर प्रमुख आचार्यले भन्न्नुभयो ।

महानगरले स्थापना दिवसका अवसरमा पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका नौ जनालाई नगद रु दुई लाख दुई हजार २०२ सहित पदक, ताम्रपत्र र दोसल्ला ओढाएर ‘पोखरा रत्न’ सम्मानबाट सम्मानित गरिएको छ ।

‘पोखरा रत्न’बाट सम्मानित हुनेमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, सङ्गीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशीलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा डा वीरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे रहनुभएको छ ।

यसैगरी, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा डा बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित हुनुभयो । महानगरपालिकाले पोखरा–२८ की १०७ वर्षीया झ्याउरीमाया तिमिल्सिना र पोखरा–३२ का १०४ वर्षीय काशीनाथ पण्डितलाई महानगर मातापिताको सम्मान गरेको छ ।

महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट हेम आचार्य सम्मानित हुनुभयो ।  महानगरको शिक्षा महाशाखा प्रमुख रहनुभएका आचार्यलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको हो । महानगरले पाँच उत्कृष्ट कर्मचारी र पाँच कर्तव्यनिष्ठ कर्मचारी घोषणा गरी नगदसहित सम्मान गरेको छ ।

महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते तत्कालीन पोखरा नगरपालिका स्थापना भएको दिनलाई यस वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन लागेको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रूपमा मनाएको थियो ।

विसं २०१६ पुस २ गते पाँच हजार सङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको हो । यसरी स्थापनाको ३६४औँ दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो ।

स्थापना दिवसका अवसरमा बिहान पोखराको चिप्लेढुँगाबाट बृहत् सांस्कृतिक र्‍याली निकालिएको थियो । सो र्‍याली पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोहमा परिणत भएको हो ।