२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो



अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।

सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारीसाधन पनि नेपाल मेडिकल कलेजभन्दामाथि जान लामो जाममा बस्नुपरेको छ । सवारी जामका कारण क्याम्पस जान समस्या भएको जिपी कोइराला क्याम्पस सिफलमा अध्ययनरत स्नातक तहका विद्यार्थी रामबहादुर तामाङको गुनासो छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहज रुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गोकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ । जङ्गलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्थामा छ । पर्खाल ठाउँठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ । यो सडक खोले गोकर्णेश्वर महादेव मन्दिरअघिबाट सवारीसाधन दक्षिणढोका निस्कन सहज हुन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ ।

मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ । अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ ।

पौषकृष्ण औँसीमा तीर्थस्थलमा गई श्राद्ध गरिन्छ । सक्नेले प्रत्येक वर्ष र नसक्नेले जीवनमा एकपटक तीर्थ, गया, विष्णुपादुकामा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

आज गोकर्णसँगै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती, त्रिवेणी, देवघाट, रिडी, बराहक्षेत्र, पशुपतिक्षेत्रलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भगवान् विष्णुको दाहिने पाउको चिन्ह रहेकाले पनि आजको दिन यहाँ श्राद्ध गर्दा पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोकोसमेत बेवास्ता गर्दै हजारौँ भक्तजन गोकर्णेश्वर पितृतीर्थ धाममा आउने गरेका छन् । रासस