२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो



अ+ अ-

म्याग्दी । बेनी नगरपालिका-३ भकिम्लीको डाँडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामा नयाँ जातको बाख्रा भित्र्याउनुभएको छ । उहाँले डाँडाखानीस्थित ‘श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म’मा अफ्रिकाबाट आएको ‘कालारी बोयर’ जातको बाख्रा भित्र्याउनुभएको हो ।

पाल्पाको रामपुरमा रहेको निजी फार्मबाट प्रजननका लागि कालारी बोयर जातका दुई बोका र दुईवटा माउ बाख्रा ल्याएर पालन गर्न थालेको श्रीसले बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्षदेखि विभिन्न उन्नत जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने क्रममा पछिल्लोपटक नयाँ कालारी बोयर जातको ल्याएको हुँ । यहाँको भूगोल र हावापानीमा पालेको कालारी बोयरबाट पाठापाठी उत्पादन सफल भएको छ ।”

श्रीसका अनुसार दुईवटा बाख्राले शतप्रतिशत कालारी बोयर जातका दुई–दुईवटा पाठापाठी जन्माएका छन् । “कालारी बोयर बाख्राकै एक प्रजाति हो । शरीरको रङ खैरो हुने भएकाले यसलाई कालारी नामकरण गरिएको हो”, उहाँले भन्नुभयो ।

सबै शरीर कालो हुनेलाई ‘ब्याकबेरी’ र टाउको रातो, शरीर सेतो रङको हुने बाख्रालाई ‘स्टायडर्ड’ बोयर भनिने श्रीसले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै विशेषता र गुण स्टाण्डर्ड बोयरसँग मिल्ने खैरो रङको कालारी बोयरको पाठापाठी नश्ल सुधारका साथै मासु र पूजाआजाका लागि बिक्री हुने गरेको छ ।”

प्रजनन (ब्याड)का लागि कालारी बोयर बाख्राको बोका प्रतिकिलो रु चार हजारमा बिक्री हुन्छ भने मासुका लागि अन्य जातका खसीबोकासरह नै हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार छिटो हुर्कने, तौल बढी हुने र हेर्दा आकर्षक देखिने बोयर बाख्राको विशेषता हो ।

बोयर बोकाबाट स्थानीय जातका बाख्राको नश्ल सुधार गरेर जन्मिएका पाठापाठी पछि छिटो बढ्ने र तौल बढी हुने श्रीसले जानकारी दिनुभयो । उहाँको फार्मलाई सरकारले उन्नत जातको बाख्राका पाठापाठीका लागि स्रोत केन्द्रको मान्यता दिएको छ ।

श्रीसका अनुसार उक्त फार्ममा उत्पादन भएका बोयर, सिनाल, खरि, जमुनापारीलगायत जातका बोका तथा पठापाठी नश्ल सुधारका लागि देशभरका किसानले खरिद गरेर लैजाने गरेका छन् । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले डाँडाखानीको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा भित्रिएको कालारी बोयर म्याग्दीका लागि नयाँ र पहिलो भएको पुष्टि गर्नुभयो ।

पन्ध्र वर्ष विदेशमा बिताएका श्रीसले १४ वर्षअघि फार्म स्थापना गर्नुभएको थियो । बाख्रापालनका लागि आवश्यक पर्ने पूर्वाधार, घाँसखेती र पाठापाठीका लागि हालसम्म रु दुई करोड लगानी भएको उहाँले जानकारी दिनुभयो । उहाँले बाख्रापालनका लागि ६० रोपनीमा डालेघाँस र करिब ३० रोपनीमा जैघाँसखेती गर्नुभएको छ ।

बर्खामा प्रशस्त पाइने हरियो मकैको घोगासहितको ठाँडलाई हिउँदमा खुवाउनका लागि साइलेज बनाउनुभएको छ । श्रीसको फार्ममा हाल माउ र पाठापाठी गरेर ४० वटा बाख्रा छन् । वार्षिक रूपमा ३० देखि ४० वटा पाठापाठी बिक्री हुने गरेको उहाँले बताउनुभयो । रासस