चितवन। आरोपप्रत्यारोपले देश बन्न नसक्ने नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनुभएको छ । राजनैतिक दलमा बढ्दै गएको आरोपप्रत्यारोपका कारण राजनैतिक दल र नेता प्रति आम जनतामा गलत धारणा बन्दै गएको उहाँको भनाइ थियो ।
तमू (गुरुङ) संघ नेपाल, चितवनको आयोजनामा बुधबार भरतपुरको सिम्याट रिसोर्टमा तमू ल्होसार (त ल्हो) पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा बोल्दै उपसभापति गुरुङले पार्टी भित्र एक अर्का बीच खुल्याउने डरलाग्दो रोग बसेको बताउनुभएको हो ।
नेपाली राजनीतिमा कर्म गर्ने भन्दा गाली गर्नेहरु हावी हुँदै गएको भन्दै उपसभापति गुरुङले नेपाली राजनीतिमा धर्म र कर्मको कमि हुँदै जादा भदौ २३ र २४ को जेनजी आन्दोलन भएको उल्लेख गर्नुभयो ।
एक राजनैतिक दलले अर्को राजनैतिक दललाई गाली मात्रै गर्ने प्रवृत्तिका कारण नेपाली जनतामा राजनैतिक दल प्रति वितृष्णा बढ्दै गएको उल्लेख गर्नुभयो ।
काङ्ग्रेसले कम्युनिष्टलाइ गाली गर्ने र कम्युनिष्टले काङ्ग्रेसलाई गाली गर्ने प्रवृत्ति बढेर गएको उल्लेख गर्दै त्यो प्रवृत्ति पार्टी भित्र पनि देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली राजनीतिमा एकले अर्कालाई खुइल्याउने प्रवृत्ति बढ्दै गएको छ ।”
त्यहीँ प्रवृत्ति नेपाली काङ्ग्रेसमा बढ्दै गएको छ । जेनजी आन्दोलनको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, “जेनजी आन्दोलन अगाडि त्यहीँ शेरबहादुर जाती जेनजी आन्दोलनका क्रममा गलामा खुकुरी खाएपछि त्यहीँ सभापति कसरी नजाती ? ” एउटै पार्टीमा बसेर पनि अलिकति कमजोर देख्नसाथ दुश्मन देख्ने प्रवृत्ति निकै हानिकारक हुनेहुदा यस्तो खेलमा नलाग्न उहाँले सबैलाई ध्यानाकर्षण समेत गराउनु भयो ।
“भदौ २२ गतेसम्म शेरबहादुर देउवा नालायक भनेको कसैले सुन्नुभयो ? जब २४ गते श्रदय सभापति माथी सङ्घातिक आक्रमण हुने बित्तिकै कुरा अर्कै रु यस्तो पनि हुन्छ राजनीतिमा ” उहाँको भनाइ थियो ।
पार्टीमा एकले अर्कालाई सिध्याउने प्रवृत्तिका कारण जेनजीले एक दिन भएपनी संसद खोल्नुपर्छ भन्ने अभिव्यक्ति दिदा पनि काङ्ग्रेसका साथीहरू पार्टीलाई बदनाम गर्न लागेको उल्लेख गर्नुभयो ।
” जेनजी आन्दोलन पछि काङ्ग्रेसले निर्वाचन भनेकै हो । तर ६/६ महिनामा परिवर्तन हुने अस्थिर सरकारको लागि निर्वाचन भन्दा संविधान संसोधन गरेर स्थिर सरकार बनाउनुपर्ने राय काङ्ग्रेसले राखेको हो ” उहाँको भनाइ थियो ।
नेपाली काङ्ग्रेस एउटै अडान लिएर नबस्ने भन्दै देशको अवस्था अनुसार निर्णय लिन सक्ने पार्टी नेपाली काङ्ग्रेस मात्रै रहेको उहाँको तर्क थियो । बिरोध गरेको मात्रै सुन्ने र त्यहीँ सार्वजनिक रूपमा बोल्दै हिड्ने काङ्ग्रेस नेता कारण कार्यकर्तामा पार्टी प्रति गलत धारणा बनेको उहाँको तर्क थियो ।
”सरकारले जेनजीसंग संविधान संसोधन गर्ने सम्झौता गर्दा दललाई बाइपास गर्छ, तिनै जेनजीका प्रतिनिधिले हामी कुनैपनी हालतमा निर्वाचन हुन दिदैनौ भन्छ ।” निर्वाचन पनि हुन नदिने र संसद पुनर्स्थापना नहुने भएपछि देश अझ अनिर्णयको बन्दी बन्ने उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा उहाँले नेपाल विभिन्न संस्कृती भेषभुषा भएको देश भन्दै यसलाई बचाइ राख्न सके यसै क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आज ल्होसार दिवस हो कम्तीमा गुरुङले आफ्नो ड्रेस त लगाएर लाउनु नी ।” आफ्नो भेषभुषा, भाषा, रितिरिवाज संस्कार संस्कृती भुल्न नहुने उहाँको तर्क थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, बाग्मती प्रदेश सभा सदस्य गीता गुरुङ, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य दिनेश कोइराला र टेक प्रसाद गुरुङ लगायतले शुभकामना राख्नु भएको थियो ।












