२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् जोखिम न्युनिकरणको भार बढाऔँः विक्रम राना



अ+ अ-

काठमाडौँ । नेपालमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने शैलीमा आधारभुत परिवर्तनको खाँचो देखिएको छ । जलवायु अनुकूलन, विपद् व्यवस्थापन र दिगो विकास लक्ष्यलाई एकीकृत रूपमा अगाडि बढाउनु नै वर्तमानको आवश्यकता रहेको यस क्षेत्रका विज्ञको बुझाइ छ ।

अहिले पनि हाम्रो ध्यान घटनापछिको उद्धार र राहतमा बढी केन्द्रित छ । तर विपद् जोखिम न्युनिकरणमा गरिएको १ डलर लगानीले प्रतिकार्यको १० देखि ११ अमेरिकी डलरसम्म जोगाउनसक्ने विभिन्न अध्ययले देखाएको छ ।

वास्तविक उत्थानशीलताका लागि मानवीय, सामाजिक, आर्थिक, प्राकृतिक र भौतिक पुँजीको विकास हुनुपर्ने मान्यता राखिएको छ । आर्थिक रूपमा सक्षम बनाउन सीमान्तकृत समुदायको परम्परागत सीपलाई व्यावसायिक बनाउन आवश्यक छ । जबसम्म समाजको सबैभन्दा तल्लो तहका मानिस आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म विपद्को सामना गर्ने क्षमता विकास हुन सक्दैन ।

विपद् व्यवस्थापन सम्बन्धी नीति नियमहरू समावेशी र उत्कृष्ट भएपनि मुख्य चुनौती कार्यान्वयन र व्यवहारमा देखिएको छ । क्षणिक नतिजामुखी र प्रतिकार्यमुखी हुँदा अझै पनि जलवायु उत्थानशीलतामा एकीकृत अवधारणाले सार्थकता पाउन सकेको छैन । यसै सन्दर्भमा लामो समयदेखि जलवायु उत्थानशीलतामा काम गर्दै आउनुभएका विज्ञ विक्रम रानासँग न्युज एजेन्सी नेपालका संवाददाताले कुराकानी गरेका छन् ।

प्रश्तुत छ कुराकानीको सम्पादित अंशः

प्रश्नः जलवायु उत्थानशील कार्यक्रमहरुमा विभिन्न गतिविधि गर्दै आउनुभएको छ, यस सन्दर्भमा यो कार्यक्रम कसरी शुरुवात भयो र यसका मुख्य अवयवहरु के–के हुन् ?

जवाफः हामीले सन् २०१३ देखि नै विश्वव्यापी कार्यक्रमको रुपमा नेपालमा बाढी उत्थानशील कार्यक्रम लागू गरेका थियौँ । सन् २०२४ देखि बाढीका अतिरिक्त अरु प्रकोपहरु जस्तैः तातो लहर वा लु (हिट वेभ) लाई पनि यसमा समावेश गरेर जलवायु उत्थानशील कार्यक्रमको रुपमा अगाडि बढाएका हौँ । यो अवधारणामा हामीले जलवायु अनुकूलन, विपद् व्यवस्थापन र दिगो विकास लक्ष्यलाई एकीकृत रुपमा लिएर जानुपर्छ भन्ने मान्यता राखेका छौँ .। यसको मुख्य सिद्धान्तमा हामीले तीन वटा पक्षलाई राखेका छौँ । पहिलो हो विपद् हुनुभन्दा पहिले गरिने सम्भाव्य र सुधारात्मक जोखिम न्युनिकरण । दोस्रोमा बाँकी रहने अवशेष जोखिमको पूर्वतयारी र प्रतिकार्य पर्दछ । तेस्रो पक्ष विपद् जोखिमको वित्तीय व्यवस्थापन हो जसमा हामीले बीमा जस्ता कार्यक्रमहरु समेटेका छौँ ।

प्रश्नः कार्यक्रम कार्यान्वयनका क्रममा समुदायमा जाँदा कस्ता खालका व्यवहारिक विधि र प्रविधिहरु प्रयोग गर्नुहुन्छ ? 

जवाफः हामी समुदायमा प्रवेश गर्दा ’क्लाइमेट रेजिलिएन्स मेजरमेण्ट फर कम्युनिटीज’ भन्ने एप्रोच र टुल्स लिएर जान्छौँ । धेरैजसो परियोजनाहरूमा पहिले नै के–के क्रियाकलाप गर्ने भनेर ‘प्रिडिक्टिभ’ ढाँचामा काम गरिन्छ, तर हाम्रोमा लक्ष्य स्पष्ट भएपनि गतिविधिहरू समुदायसँगको छलफलपछि मात्र तय हुन्छन् । त्यसैले फिल्डमा कामको निकै विविधता छ । हामीले नीति नियममै सुधार गर्नका लागि सम्बन्धित निकायको विधान समितिमार्फत नै सहयोग पु¥याउँछौँ ताकि प्रणाली नै ‘हेल्दियर’ होस् । समुदायमा सानादेखि ठूलासम्मका काम छन् । जस्तै, वर्षा याममा बेर्ना जोगाउन मुस्किल हुने ठाउँमा हामीले ‘रेज नर्सरी’ अर्थात उच्च नर्सरी बनाउन सिकाउँछौँ ।

खाद्यान्न जोगाउनका लागि ‘उच्च अन्न भण्डारण’ वा ‘उच्च भकारी’ को अवधारणा ल्याएका छौँ । पूर्वाधारको कुरा गर्दा, बाढी आउँदा मान्छेले सूचना त पाउँछन् तर ‘कहाँ जाने?’ भन्ने समस्या हुन्छ । त्यसैले हामीले सुरक्षित भवनहरू निर्माण गर्छौँ, जसलाई हामी ‘रेस्पोन्स क्यापेबिलिटी’ को रूपमा लिन्छौँ । यस्तै, सुरक्षित स्थानसम्म पुग्नका लागि साना कल्भर्टहरू बनाउनेदेखि लिएर कतिपय ठाउँमा डुङ्गाको व्यवस्था गर्नेसम्मका काम उनीहरूको खाँचो हेरेर गरिन्छ । अर्को महत्वपूर्ण पक्ष ‘सुधारात्मक जोखिम न्युनिकरण’ हो, जसमा नदीको कटान रोक्न प्रत्यक्ष रूपमा देखिने गरी जैविक तटबन्धन जस्ता कामहरू गरिन्छ ताकि समुदायमा बाढी पस्न नपाओस् ।

प्रश्नः जीविकोपार्जनमा उत्थानशीलतालाई कसरी जोड्नुहुन्छ, आधार के हो ?

जवाफः हामीले मानवीय, सामाजिक, आर्थिक, प्राकृतिक र भौतिक गरी पाँचवटा पुँजीलाई आधार मानेका छौँ । मानवीय पुँजी अन्तर्गत समुदायको सीप र क्षमता विकास गरिन्छ । सामाजिक पुँजीमा विपद्का बेला एक अर्कालाई गर्ने सहयोग र सामाजिक सम्बन्धलाई हेरिन्छ । आर्थिक पुँजीमा विपद्पछि ऋण लिनु नपरोस् भनेर जीविकोपार्जनका विकल्पहरु जस्तै सिलाइ–कटाइ वा हस्तकलाका तालिम दिइन्छ । प्राकृतिक पुँजी अन्तर्गत सामुदायिक वन र जैविक तटबन्धका काम गरिन्छ भने भौतिक पुँजीमा सुरक्षित भवन र अन्य संरचना निर्माण गरिन्छ । हाम्रो मुख्य जोड अहिले भइरहेको प्रतिकार्यमुखी लगानीलाई जोखिम न्युनिकरणतर्फ मोड्नु हो । किनभने न्युनिकरणमा गरिएको एक डलर लगानीले प्रतिकार्यको १० देखि ११ डलर जोगाउन सक्छ ।

आर्थिक पुँजीको सन्दर्भ निकै गम्भीर छ । कुनै विपद् भएपछि आर्थिक आधार भएन भने मानिसहरू ‘नकारात्मक निर्णय’ गर्न बाध्य हुन्छन् । जस्तै, घरको गाई–भैँसी बेच्नुपर्ने, बालबच्चाको पढाइ रोकेर काममा लगाउनुपर्ने वा ऋण लिनुपर्ने अवस्था आउँछ । यो अवस्था नआओस् भनेर हामीले ‘लाइभलीहुड डाइभर्सिफिकेसन’ मा काम गर्छौं । समुदायमा तालिम सञ्चालन गर्दा १० वा १२ कक्षा पास गरेको हुनुपर्ने जस्ता ठूला मापदण्ड राख्ने गरिन्छ । तर हामीले काम गर्ने समुदायमा त पढ्न–लेख्न नजान्नेहरू धेरै हुनुहुन्छ । त्यसैले हामीले उनीहरूको परम्परागत सीपलाई नै प्राथमिकता दिन्छौँ । जस्तै, बर्दियामा हामीले शैक्षिक प्रमाणपत्रलाई आधार नमानी उहाँहरूले पहिलादेखि नै गर्दै आएको ‘इम्ब्रॉयडरी’ वा ‘मुज र काँस’ बाट डालोहरू बनाउने सीपलाई नै व्यावसायिक बनाउन सहयोग गरेका छौँ । जबसम्म हामीले यस्ता ‘रेस्ट्रिक्सन’ हरू हटाएर समाजको सबैभन्दा तल्लो तहका मानिसलाई आर्थिक रूपमा सक्षम बनाउँदैनौँ, तबसम्म वास्तविक उत्थानशीलता सम्भव छैन ।

प्रश्नः विपद् जोखिमको वित्तीय व्यवस्थापन अन्तर्गत बीमाको कुरा गर्नुभयो, यसले कसरी काम गर्छ ?

जवाफः हामीले सन् २०२१ देखि नेपालमा पहिलोपटक सूचकाङ्कमा आधारित बाढी बीमा शुरु गरेका हौँ । यसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेको छ र जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा सञ्चालन गरिएको छ । यसमा परम्परागत बीमामा जस्तो क्षति भएपछि लामो समय मूल्याङ्कन पर्खिनु पर्दैन । यदि नदीमा पानीको सतहले निश्चित बिन्दु पार ग¥यो भने स्वतः ट्रिगर हिट हुन्छ र किसानको खातामा पैसा जाने व्यवस्था गरिएको छ ।
विपद् व्यवस्थापन चक्र हेर्ने हो भने कुनैपनि विपद्पछि रिकभरि हुन समय लाग्ने हुन्छ । विपद्पछिको रिकभरिलाई यसले सहयोग पु¥याउँछ । किनकि यसमा बाढीले पूर्वनिर्धारित तह वा मापदण्ड नाघ्ने बित्तिकै किसानले बीमा वापतको निश्चित रकम प्राप्त गर्छन् ।

प्रश्नः ‘बाढी बीमा’ परम्परागत बीमाभन्दा कसरी फरक र प्रभावकारी छ ?

जवाफः यो नेपालका लागि निकै नौलो अभ्यास थियो । परम्परागत बीमामा क्षति भइसकेपछि लस एसेस्मेण्ट गर्न धेरै समय लाग्ने र किसानले पैसा पाउन ६ महिनाभन्दा बढी कुर्नुपर्ने झन्झट थियो । तर यो ‘प्यारामेट्रिक इन्सुरेन्स’ मा हामीले जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मान्छौँ । नदीमा पानीको सतहले एउटा निश्चित सीमा काटेर ’ट्रिगर’ हिट हुने बित्तिकै किसानले क्षतिपूर्ति पाउने बाटो खुल्छ ।

यसका लागि बीमा कम्पनी, सहकारी र किसानबीच एउटा सञ्जाल बनाइएको छ । बाढी आएको प्रमाणित गर्न जल तथा मौसम विज्ञान विभागको रिभर वाच सिस्टमको डाटा नै पर्याप्त हुन्छ । यसको मुख्य उद्देश्य नै ‘फास्ट अर्ली रिकभरी’ हो । अहिले हामीले मुख्य रूपमा धान बालीको रक्षावरण गरेका छौँ । किनभने बाढीका बेला घरका लत्ताकपडा वा अन्न त उच्च भकारीमा सारेर जोगाउन सकिएला तर खेतको धान सार्न सकिँदैन । तराईका किसानका लागि धान नै छोराछोरी पढाउने, औषधि उपचार गर्ने र लुगाफाटो किन्ने मुख्य आर्थिक आधार हो । त्यसैले उनीहरूको जीविकोपार्जनमा सिधै असर गर्ने क्षेत्रलाई हामीले बीमामार्फत सुरक्षित गर्न खोजेका हौँ ।

प्रश्नः जलवायु उत्थानशीलतालाई कसरी परिभाषित गर्नुहुन्छ ?

जवाफः हाम्रो लागि उत्थानशीलता भनेको विपद्पछि पुरानै अवस्थामा फर्किनु मात्र होइन । यो त एउटा प्रणालीको क्षमता हो । जहाँ व्यक्ति, परिवार र समाजले सामाजिक, आर्थिक र पर्यावरणीय रुपमा दीर्घकालीन रुपमा विकास गर्न सकुन् । एउटा मात्र क्रियाकलापले उत्थानशीलता आउँदैन । यसका लागि एकीकृत प्रयास आवश्यक पर्छ । यदि हामीले बनाएको संरचनाले अर्को वर्षको बाढी धान्न सक्दैन भने त्यो उत्थानशीलता होइन । त्यसैले सोच र कार्य दुवैमा स्पष्टता भएर एकीकृत रुपमा अघि बढ्नु नै हाम्रो बुझाइमा उत्थानशीलता हो ।

प्रश्नः तातो लहर वा गर्मीबाट बच्न समुदाय लक्षित कस्ता नविनतम अभ्यास गर्नुभएको छ ?

जवाफः तातो लहरको क्षेत्रमा हामी अहिले पनि सिक्ने क्रममै छौँ । तर एउटा नविन प्रयोगका रूपमा हामीले विद्यालयका भवनहरूमा ‘इलास्टोमेट्रिक पेन्ट’ को परीक्षण गरिरहेका छौँ । तराईका सरकारी विद्यालयहरू जहाँ एसी वा फ्यान(पंंखा) को पर्याप्त सुविधा छैन । त्यहाँका कङ्क्रिटका छतहरूले धेरै तापक्रम सोस्छन् । यो विशेष प्रकारको रङ लगाएपछि भवनले सोस्ने तातो १८ देखि २० प्रतिशतसम्म रिफ्लेक्ट हुन्छ भन्ने वैज्ञानिक आधार छ । हामीले १४ वटा विद्यालय लक्षित गरेकोमा अहिले चार वटामा यो रङ लगाएका छौँ ।

विद्यार्थीलाई नै रङ लगाएको कोठा र नलगाएको कोठाको तापक्रम मापन गर्न लगाएर त्यसको प्रभाव अध्ययन गरिरहेका छौँ । यो नविन प्रयोग हो । यसले ‘हुँदा खाने’ वर्गलाई प्रत्यक्ष फाइदा पु¥याउने भएकाले यो महत्वपूर्ण छ । जसले एसी जडान गर्न सक्दैनन्, उनीहरूका लागि यो रङ एउटा दिगो समाधान हुनसक्छ । यस बाहेक हामीले स्थानीयस्तरमा चिसो पानी राख्न प्रयोग गरिने माटोका घैँटोहरू वा चौतारीमा बसेर पानी खाने जस्ता पुराना उपयोगी परम्पराहरूलाई पनि कसरी आधुनिक आवश्यकतासँग जोड्न सकिन्छ भनेर हेरिरहेका छौँ ।

प्रश्नः स्थानीय, प्रदेश र संघ सरकारसँगको समन्वय र बुझाइमा कस्ता चुनौतीहरु देख्नुभएको छ ?

जवाफः हाम्रो मुख्य चुनौति भनेको नीति नियम नहुनु वा क्षमता नहुनु होइन । नेपालको सरकारी र गैरसरकारी दुवै संयन्त्रमा क्षमतावान व्यक्तिहरु हुनुहुन्छ र नीतिहरु पनि समावेशी छन् । मुख्य समस्या व्यवहारमा छ । हामी अझै पनि क्षणिक नतिजामुखी र प्रतिकार्यमुखी छौँ । विपद् आएपछि उद्धार गर्ने काममा सबैको ध्यान जान्छ तर जोखिम न्युनिकरणमा लगानी गर्ने कुरामा अझै ढिलाइ भइरहेको छ । हामीले सरकारी संयन्त्रलाई नयाँ चिज सिकाउने भन्दा पनि स्थानीय सरकारका विपद् व्यवस्थापका योजना प्रक्रियालाई कसरी अझ प्रभावकारी र ‘हेल्दियर’ बनाउने भन्नेमा सहयोग गरिरहेका छौँ । पहुँच नभएका र पछाडि परेका समुदायको आवाजलाई सरकारी योजनासम्म पु¥याउने सेतुको रुपमा हामीले काम गरिरहेका छौँ । उहाँहरुको आवश्यकताको सम्बोधन गराउनसकेमा मात्र उहाँहरुमा आत्मविश्वास बढ्छ र बल्ल वास्तविक समावेशी उत्थानशीलता सम्भव हुन्छ ।