१३ असार २०८३, शनिबार
,
Latest
नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइँदै



अ+ अ-

कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरले सार्वजनिक क्षेत्रमा रहेका जोखिमपूर्ण रुख हटाउने प्रक्रिया अघि बढाएको छ । सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न वन कार्यालयले त्यस्ता रुख हटाउन लागेको हो ।

वन क्षेत्रबाहेक जग्गाधनी प्रमाणपुर्जा भएका र नभएका सार्वजनिक सडक, सरकारी कार्यालय, समिति, संस्थान, विद्यालय, पानीका मुहान, धार्मिकस्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमपूर्ण रुख हटाउन वन कार्यालयले तीनदिने सार्वजनिक सूचना जारी गरेको छ ।

डिभिजनल वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार जग्गाधनी प्रमाणपुर्जा नभएका सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख तत्काल नहटाउँदा धनजनको क्षति हुनसक्ने देखिएमा वन नियमावली २०७९ को नियम ३६ बमोजिम हटाउन सकिने व्यवस्था छ ।

जग्गाधनी प्रमाणपुर्जा भएका सरकारी कार्यालय, समिति, संस्थान तथा अन्य कार्यालय परिसरभित्रका रुखका हकमा सम्बन्धित कार्यालयको अनुरोध र नियम ३६ को उपनियम ९१० बमोजिम समितिको सिफारिसका आधारमा डिभिजनल वन अधिकृतले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको निर्णयअनुसार हटाउन सक्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

“सोही कानुनी व्यवस्थाअनुसार जोखिमपूर्ण रुख हटाउन सूचना जारी गरेका हौँ”, उहाँले भन्नुभयो, “सूचना अनुसार निवेदन आउने क्रम जारी छ ।” निवेदन सङ्कलनपछि वन अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गरी रुख जोखिमपूर्ण भए–नभएको मूल्याङ्कन गर्ने र त्यसको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिमा पेस गरिने उहाँले जानकारी दिनुभयो । समितिको निर्णयअनुसार तत्काल हटाउनुपर्ने ठहर भएमा रुख हटाइने उहाँको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिका–६ स्थित वन समिति कसरौलतर्फ जाने कालोपत्रे सडकको दायाँबायाँ तथा बीच भागमा रहेका केही जोखिमपूर्ण रुखका कारण यसअघि मानवीय क्षतिसमेत भएको छ । रुखको हाँगा खसेर लाग्दा एक जनाको ज्यान गएको र एकपटक विद्यालयका विद्यार्थी बोकेको बसमाथि रुख खस्दा बस क्षतिग्रस्त भए पनि विद्यार्थीको ज्यान जोगिएको वडाध्यक्ष दानसिंह ऐरले बताउनुभयो । रासस